काठमाडौं, चैत २१ । निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयको पक्षका कान्तिपुरका सञ्चालक नै उभिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णय गरेपछि चौतर्फी विरोध भइरहँदा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया खुलेरै सरकारको पक्षमा उत्रिनुभएको हो ।
सिरोहियाले बालेन सरकारको सो निर्णयको खुलेर समर्थन गर्नुभएको छ । प्रबन्ध निर्देशक सिरोहियाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारी विज्ञापन वितरणलाई ‘३ सय करोड रुपैयाँ बराबरको भ्रष्ट र्याकेट’को रूपमा व्याख्या गर्नुभएको छ । उहाँले विज्ञापनको ठुलो हिस्सा बिचौलियामार्फत खर्च हुने गरेको खुलासा गर्दै यस्तो प्रणाली अन्त्य हुनु सकारात्मक कदम भएको बताउनु भएको हो ।
सिरोहियाको यो खुलासाले कान्तिपुर मिडिया ग्रुपले पनि बिचौलियामार्फत विज्ञापन लिने गरेको सत्य बाहिर आएको छ । प्रबन्ध निर्देशक सिरोहियाका अनुसार सरकारी विज्ञापनको करिब ७० प्रतिशत रकम बिचौलियाले खाने गरेका छन्, जसले मिडिया क्षेत्रलाई विकृत बनाएको छ । उहाँले कान्तिपुर मिडिया ग्रुप कहिल्यै सरकारी विज्ञापनमा निर्भर नरहेको स्पष्ट पार्दै यस निर्णयले आफ्नो संस्थालाई कुनै अस्तित्व सङ्कट नपर्ने घोषणासमेत गर्नुभएको छ ।
सिरोहियाले यो विषयलाई प्रेस स्वतन्त्रतासँग जोड्नु उपयुक्त नभएको पनि बताउनु भएको छ । सिरोहियाका अनुसार यो पूर्ण रूपमा व्यावसायिक विषय हो र सरकारी स्रोतमा निर्भर रहेका मिडियालाई यस निर्णयले बढी असर पार्नेछ ।
उहाँले विगतमा कान्तिपुरले समेत आर्थिक चुनौती भोग्दै कर्मचारीलाई तलब दिन कठिन भएको समय स्मरण गर्दै मिडिया संस्थाहरूले नवप्रवर्तन र पाठककेन्द्रित सामग्रीमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । विज्ञापन स्रोतहरू विविधीकरण गर्न सके कुनै एक स्रोतमा निर्भर रहनु नपर्ने उहाँको भनाइ छ। फेसबुकमा अंग्रेजीमा स्ट्याटस लेख्दै संभवले आफू बालेन सरकारको साथमा रहेको बताउनु भएको छ ।
यस्तो छ संभवको कुरा
परिवर्तनको लागि निर्णयहरू चाहिन्छ। कठिन निर्णयहरू। आवश्यक निर्णयहरू।
केही काम गर्नेछन्, केहीले गर्दैनन्—त्यो नेतृत्वको प्रकृति हो। निर्णय जति साहसी हुन्छ, विवाद त्यति नै ठूलो हुन्छ। @shahBalen मलाई लाग्दैन कि तपाईं पनि त्यसबाट टाढा बस्ने व्यक्ति हुनुहुन्छ।
हामी पहिलो पटक भेट्दा तपाईंले भन्नुभएको शब्दहरू, लोकतान्त्रिक मूल्यमान्यताहरूप्रति तपाईंको प्रतिबद्धता मलाई याद छ। शक्तिले तपाईं भित्र त्यो कहिल्यै भ्रष्ट नहोस्, तर विवादले तपाईंलाई कहिल्यै ढिलो नबनाओस्।
यो हाम्रो पुस्ताको क्षण हो। सम्भव छ भनेर थाहा पाएको नेपाल निर्माण गरौं। विरोध गर्नेहरू मार्फत, विवाद मार्फत। म तपाईंसँगै छु, मिसनको लागि
(Change requires decisions. Difficult decisions. Necessary decisions.
Some will work, some won’t—that’s the nature of leadership. The bolder the decision, the greater the controversy. @shahBalen I don’t think you’re someone who shies away from either.
I remember the words you told me when we first met, your commitment to democratic values. Let power never corrupt that within you, but let controversy never slow you down either.
This is our generation’s moment. Let’s build the Nepal we know is possible. Through the naysayers, through the controversy. Im with you, for the mission)
बालेन सरकारको यो निर्णयले मिडिया क्षेत्रमा ठुलो बहस सिर्जना गरिरहेका बेला नेपालकै सबैभन्दा ठुलो मानिने निजी क्षेत्रको सञ्चार गृह कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियाको खुला समर्थनलाई अर्थपूर्ण रूपमा लिइएको छ । सिरोहिया प्रधानमन्त्री बालेनसँग दोस्ती रहेको व्यक्तिसमेत हुनुहुन्छ । काठमाडौंको मेयर छाडेर प्रधानमन्त्री बन्नका लागि राजनीतिमा उक्साउने प्रमुखमध्येका एक पात्र पनि सम्भव हुनुहुन्छ ।
रवि लामिछानेसँग पानी बाराबारको अवस्था रहे पनि बालेन प्रधानमन्त्री बनेपछि सम्भव पनि रास्वपातिर लागेको चुनावअघि नै कान्तिपुर मिडिया ग्रुपभित्रै भुसको आगो सरी फैलिएको थियो । राजा ज्ञानेन्द्रको शासनकालमा यही विषयमा विपक्षमा खडा भएको कान्तिपुर मिडिया ग्रुप अहिले सोही सूचना कपी पेष्ट हुँदा पक्षमा उभिएर सरकारी निकायमा थर्काएर झार्ने रणनीतिका रूपमा समेत कतिपय विश्लेषकले व्याख्या गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्