काठमाडौं, चैत २२ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका अनुसार उक्त रिट न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेश हुने कार्यसूची रहेको छ। आजको सुनुवाइलाई राजनीतिक तथा कानुनी दुवै दृष्टिले चासोका साथ हेरिएको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यससँग जोडिएका घटनामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उहाँहरूको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरिएको हो।
यसअघि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै पक्राउको कानुनी आधारबारे लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो। विपक्षी पक्षबाट लिखित जवाफ पेश भइसकेकाले आज संयुक्त इजलासमा विस्तृत सुनुवाइ हुन लागेको हो।
रिट निवेदनमा ओलीकी पत्नी राधिका शाक्य तथा लेखककी पत्नी यशोदा लेखकले उहाँहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गर्नुभएको छ।
आजको सुनुवाइबाट अदालतले थुनाको वैधताबारे महत्वपूर्ण आदेश दिन सक्ने भएकाले यसलाई समसामयिक राजनीतिक घटनाक्रमको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्