जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १४:४८

अब सातामा दुई दिन बिदा, शनिबार र आइतबार सार्वजनिक बिदा हुने 


काठमाडौं, चैत २२ । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। उहाँले यो निर्णय चैत २३ गते सोमबारदेखि लागू हुने जानकारी दिनुभयो।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब सरकारी कार्यालय र विद्यालय तथा क्याम्पसहरू शनिबार र आइतबार बन्द रहनेछन्। बाँकी कार्यदिनमा कार्यालय समय आवश्यकताअनुसार व्यवस्थित गरिने जनाइएको छ।

सरकारले इन्धन आपूर्तिमा देखिएको दबाब कम गर्न, प्रशासनिक खर्च घटाउन तथा मितव्ययिता अपनाउन यो निर्णय लिएको बताइएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या र बजारमा परेको प्रभावलाई ध्यानमा राखेर यस्तो कदम चालिएको सरकारी स्रोतले जनाएको छ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

बैठकले अर्थ मन्त्रालयअन्तर्गत ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।

त्यसैगरी, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।