जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार २०:२२

बालेनकाे पूर्वाग्रह काम लागेन, एमाले सांसद रेखा शर्मा थुनामुक्त 


काठमाडौं, चैत २२ । प्रधानमन्त्री बालेन्द्र साह बालेनले बालश्रम शोषण र बालिकामाथि दुर्व्यवहारको आरोपमा पूर्वाग्रही भाग राखी पक्राउ  गर्न लगाएकी नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको छ।

यसअघि सोही कसुरमा उहाँ विरुद्ध मुद्दा नचलाउने निर्णय भइसकेको पृष्ठभूमिमा अदालतले थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उहाँलाई हिरासतबाट रिहा गरिएको छ। यस अघि बालेन साहले आफ्नो दिन आएको बेला शर्मालाई पक्राउ गर्ने धम्की दिनुभएको थियो । प्रधानमन्त्री भए लगत्तै उहाँलाई पक्राउ गर्न लगाउनुभएको थियो ।

उहाँमाथि आफ्नै घरमा काम गर्न राखिएकी एक बालिकालाई कुटपिट तथा मानसिक यातना दिएको आरोप लागेको छ। काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा ती बालिकाले आफूमाथि लामो समयदेखि हिंसा हुँदै आएको बयान दिएको भन्दै बालेन महानगर प्रमुख भएको बेला शर्मालाई मुद्दा लगाइएको थियो।

बालिकालाई पढाइरहेको, कुनै पनि खालको यातना नदिएको तथा दाश बनाएको नपाइएको भन्दै सरकारी वकिल कार्यालयले सो मुद्दामा अभियोजन नचलाउने निर्णय गरेको थियो।  बालेन नेतृत्वको नयाँ सरकार गठन भएपछि सोही घटनासम्बन्धी नयाँ जाहेरी दर्ता गरी अनुसन्धान पुनः सुरु गरिएको थियो।

प्रहरीले गत सोमबार उहाँलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियो। तर अदालतले उहाँलाई छाड्न आदेश दिएको छ ।

यस्तो छ अदालतको आदेश :

मिसिल संलग्न कागजातहरू हेर्दा, पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको, शङ्कित रेखा कुमारी शर्माले पीडितलाई यातना दिई दास बनाई राखेका हुन् भन्ने आरोपित तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतितलायक प्रमाण मिसिल संलग्न रहेको नदेखिएको समेतका आधार कारणबाट प्रस्तुत मुद्दामा शङ्कित रेखा कुमारी शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकोले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनवाट शङ्कित रेखा कुमारी शर्माको हकमा प्रस्तुत दास बनाउन नहुने मुद्दा नचलाउने गरी भएको निर्णय तथ्य र कानुन सम्मत रहेको देखिन्छ। अतः मुद्दा अन्तिम निर्णयाधिकारी माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारण आधारमा शङ्कित रेखा कुमारी शर्मा उपर मुद्दा नचल्ने भई आएको निर्णय समर्थन गरी अन्तिम निकाशा पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८२/०२/१६ मा निर्णय भइ सकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनमै राखी मुद्दा पुन गर्नु पर्ने अवस्ता नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू ।