जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार २१:२१

६ महिनामा रामेछापमा २७ जनाको सवारी दुर्घटनामा मृत्यु, ६५ जना घाइते


रामेछाप, चैत २२ । रामेछाप जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन्। जिल्लाभित्र बढ्दो सवारी चाप र नियम उल्लंघनका कारण दुर्घटनाको सङ्ख्या चिन्ताजनक देखिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवासचन्द्र मण्डलका अनुसार उक्त अवधिमा जिल्लाभर ३५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् भने अन्य ५३ जना सामान्य तथा मध्यम अवस्थाका घाइते भएका छन्।

उहाँका अनुसार दुर्घटनाबाट मानवीय क्षतिसँगै ट्राफिक नियम उल्लंघनका घटनामा पनि वृद्धि देखिएको छ। सोही अवधिमा ट्राफिक प्रहरीले विभिन्न सवारी साधनमाथि गरेको कारबाहीबाट २५ लाख ३० हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ। २ हजार ३ सय ७३ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व उठेको हो।

जिल्लामा लागूपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति पनि देखिएको ट्राफिक प्रहरीले जनाएको छ। विशेष जाँचका क्रममा ३ जना चालकले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको प्रमुख मण्डलले जानकारी दिनुभयो।

तीमध्ये एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने प्रक्रिया समेत अघि बढाइएको उहाँले बताउनुभयो।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर सचेतनामूलक कक्षा, नियमित चेकजाँच, चालक तथा सहचालक अभिमुखीकरण कार्यक्रम र ट्राफिक नियम पालनासम्बन्धी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

उहाँले सबै चालकलाई गति नियन्त्रण, मादक तथा लागूपदार्थ सेवन नगरी सवारी चलाउन, सिट बेल्ट र हेल्मेटको अनिवार्य प्रयोग गर्न तथा ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ।