काठमाडौं, चैत २३ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले गृह मन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गर्नुभएको छ।
उहाँले गृह मन्त्री पदको जिम्मेवारी सम्हालेकोमा सम्मान व्यक्त गर्दै बधाई दिन बाँकी रहेको उल्लेख गर्नुभएको छ। व्यक्तिगत सम्बन्ध र राजनीतिक जिम्मेवारीलाई अलग राख्दै उहाँले प्रतिपक्ष दलको नेताका रूपमा सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनु आफ्नो पदीय दायित्व भएको बताउनुभएको छ।
खुला पत्रमा साम्पाङले ‘जेन–जेड आन्दोलन’ अन्तर्गत चैत २३ गते भएको घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएकोमा गृह मन्त्रीलाई धन्यवाद दिनुभएको छ। गलत काममा संलग्न व्यक्तिहरूको सूची तयार गरी कारबाही गरिरहेको कार्यलाई उहाँले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभएको छ।
तर, उहाँले सदनमा उठाइसकेका दुई महत्त्वपूर्ण विषय नबिर्सन आग्रह गर्नुभएको छ। पहिलो, जेन–जेड आन्दोलनको चैत २४ गते भएको घटनाका दोषीमाथि कारबाही हुनुपर्ने र दोस्रो, जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिनुपर्ने माग पुनः दोहोर्याउनुभएको छ।
साथै, गृह मन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको भन्ने समाचार सामाजिक सञ्जालमा फैलिएको विषयप्रति पनि साम्पाङले गम्भीर चासो व्यक्त गर्नुभएको छ। उहाँले यस विषयमा नैतिकताको प्रश्न उठेको भन्दै तत्काल पत्रकार सम्मेलन गरेर स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। ‘यदि यस विषयमा जवाफ नदिइए जनताले विश्वास नगर्ने अवस्था आउन सक्छ,’ साम्पाङले पत्रमा उल्लेख गर्दै सार्वजनिक विश्वास कायम राख्न पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ।
उहाँले गृह मन्त्रीलाई आफ्नो सुझावलाई सकारात्मक रूपमा लिने विश्वास व्यक्त गर्दै छिट्टै हृदयदेखि बधाई दिन पाउने दिन आउने आशा व्यक्त गर्नुभएको छ।
यस्तो छ हर्क साम्पाङकाे पत्र :
प्रिय सुधन गुरुङज्यु, तपाईँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाई दिएको छैन ! मलाई “हर्क दाइ” भन्नु हुन्छ ! त्यो साइनोले “भाइ हो तपाईँ मेरो” मलाई “हर्क जी” भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाईँ मेरो” तर यो देशको विधि र संविधानलाई मान्दा तपाईँ “माननीय गृह मन्त्री ज्यु” हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाईँको टीकाटिप्पणी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरू व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् !
nothing personal, everything professional and legal ! तपाईँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरूलाई पक्रनु भो ! धन्यवाद सबैले दिएका छन् ! गलत काम गर्नेहरूको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही २. जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने !
काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाईँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् !
मलाई आशा छ तपाईँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाईँलाई हृदय देखि नै बधाई दिनेछु ! त्यो दिन चाँडै आओस् ! जय देश !













प्रतिक्रिया दिनुहोस्