हेटौँडा, चैत २४ । हेटौँडा उपमहानगरपालिकालाई ‘स्वस्थ सहर’ का रूपमा विकास गर्ने अभियान औपचारिक रूपमा सुरु गरिएको छ। वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारीअनुसार प्रदेशको राजधानीसमेत रहेको हेटौँडाबाट यस कार्यक्रमको थालनी गरिएको हो।
‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मंगलबार हेटौँडामा आयोजना गरिएको थियो। जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा विस्तृत छलफल तथा अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामा, प्रदेश सचिव डा. सुमित्रा गौतम, महाशाखा प्रमुख भीम तिमल्सिना लगायतले हेटौँडालाई नमूना स्वस्थ सहरका रूपमा विकास गर्न सबै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, अन्य स्वास्थ्यकर्मीहरू, हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी र जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएकाे थियाे ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वाग्मती प्रदेशका अधिकृत हरि भुसालले स्वस्थ सहर निर्माणका लागि आवश्यक कार्ययोजना, स्वास्थ्यमैत्री पूर्वाधार, सरसफाइ, वातावरणीय व्यवस्थापन तथा नागरिकको जीवनस्तर अभिवृद्धिका विषयमा विस्तृत जानकारी दिनुभएको थियो। भुसालले मानिसको स्वास्थ्यमा स्वास्थ्य क्षेत्रको प्रत्यक्ष योगदान २० प्रतिशत मात्र हुने र बाँकी ८० प्रतिशत प्रभाव खानपान, घरायसी वातावरण, पर्यावरण, शिक्षा, रोजगारी तथा आर्थिक अवस्थाबाट पर्ने तथ्य प्रस्तुत गर्नुभयो।
प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, अत्यावश्यक स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तरमा सुधार ल्याउने, साथै सहज स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियानलाई अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा यो कार्यक्रम सुरु भइसकेको छ। साथै रसुवाको गोसाईकुण्डमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमसमेत सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भइसकेको छ। विश्व स्वास्थ्य संगठनले धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको थियो।













प्रतिक्रिया दिनुहोस्