चरिकोट, चैत २५ । नेकपा (एमाले) दोलखा जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलापछि जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्दै सरकारका पछिल्ला निर्णयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार वर्तमान सरकार गठन भएपछि सरकारले गरेका निर्णयहरू असंवैधानिक र निर्दलीयताको पूर्वअभ्यासका रूपमा देखिएको ठहर भेलाले गरेको छ। उहाँले सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत उन्मुख भइरहेको भन्दै त्यसप्रति भेलाले घोर भर्त्सना गरेको जानकारी दिनुभयो।
भेलामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा प्रति गरिएको भनिएको गैरकानुनी, प्रतिशोधपूर्ण तथा ‘अपहरण शैलीको गिरफ्तारी’ को कडा शब्दमा निन्दा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार पार्टीका नेता तथा कार्यकर्ताले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा लिँदै संगठनलाई अझ सुदृढ र व्यवस्थित बनाउन आवश्यक तयारीमा जुट्ने निर्णय गरेका छन्। पार्टी कामलाई होसियारीपूर्वक सुव्यवस्थित गर्दै आगामी चैत २८ गते पालिका कमिटीको आयोजनामा हुने बैठक तथा भेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।

भेलामा जिल्लाका विभिन्न तहका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै पार्टीलाई जनस्तरसम्म अझ सशक्त रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
अध्यक्ष श्रेष्ठले आगामी बैठकलाई संगठनात्मक दृष्टिले महत्त्वपूर्ण मानिएको उल्लेख गर्दै पालिका तहसम्म पार्टी संरचनालाई थप सक्रिय, अनुशासित र प्रभावकारी बनाउने लक्ष्यका साथ तयारी अगाडि बढाइएको बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्