जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार ११:०८

कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ : पूर्वगृहमन्त्री रमेश लेखक


काठमाडौं, चैत २७ ।  नेपाल कांग्रेसका नेता पूर्वगृह मन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित’ बताउनुभएकाे छ ।

सोही आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राखिएको उहाँले  बताउनुभएको छ। ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, उहाँले भन्नुभएकाे छ ।

लेखक सर्वोच्च अदालतको आदेशपछि रिहा हुनुभएको हो। उहाँ विरुद्ध सो घटनमा लापरबाही गरी ज्यान मारेकाे आराेप लगाइएकाे थियाे ।

रिहाइपछि सार्वजनिक धारणा व्यक्त गर्दै पूर्वगृहमन्त्री लेखकले उक्त प्रतिवेदनको आधारमा आफूलाई नियन्त्रणमा राखिए पनि अन्ततः न्यायालयबाट रिहा भएको उल्लेख गर्नुभएको छ। उहाँले आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै बाँकी कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पार्नुभएको छ।

लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइ, कानुनी लडाइँमा अहोरात्र साथ दिने कानून व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले सञ्चारकर्मीहरूको भूमिकाको पनि प्रशंसा गर्दै न्याय र सत्यको पक्षमा सार्वजनिक बहसलाई जीवित राख्न सहयोग पुर्‍याएको बताउनुभएको छ। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदनका आधारमा लेखकसहित तत्कालीन जिम्मेवार पदाधिकारीमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि पूर्वप्रधानमन्त्री कपी शर्मा ओली तथा उहाँलाई पक्राउ गरिएको थियो।

रिहाइपछि लेखकले न्यायिक प्रक्रियाप्रति सम्मान जनाउँदै आगामी दिनमा पनि कानुनी र राजनीतिक रूपमा आफ्नो पक्ष मजबुत ढंगले प्रस्तुत हुने बताउनुभएकाे छ ।  उहाँले आफ्नो राजनीतिक र कानुनी संघर्ष अझै समाप्त नभएको सन्देश दिनुभएको छ।