जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार १५:५६

संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने : रामचन्द्र पौडेल 


काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहना पुरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै  उहाँले निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनु पर्ने बताउनुभयो ।

उहाँले न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तन सार्थक बन्ने बताउनभयो ।

वर्तमान संविधान कार्यान्वयनका १० वर्षको अवस्था हाम्रो लागि महत्त्वपूर्ण भएको बताउँदै संविधानको भावना अनुसार गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो ।’ विदेश गएका युवालाई आफ्नै देशमा, आफ्नै गाउँमा बसौँ बसौँ बन्ने वातावरण सरकारले बताउनु पर्ने छ’,  उहाँले भन्नुभयो ।

पौडेलले प्रतिनिधि सभाको निर्वाचनबाट नेपालको संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्व सहितको प्रतिनिधि सभा गठन भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको उहाँले बताउनुभयो । ‘जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुक भित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तीव्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकाङ्क्षा राखेका छन् , पटक–पटक भएका जनआन्दोलन, सङ्घर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलन मार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो, जनताको’, उहाँले भन्नुभयो ।

उहाँले युवामा अहिले निराशा देखिएको भन्दै त्यसको लागि सरकारले काम गर्नु पर्नमा जोड दिनुभयो । यसका लागि सेवा प्रवाह चुस्त दुरुस्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।