जनता टाइम्स

३० चैत्र २०८२, सोमबार ०८:०७

सम्पत्ति विवरणसँगै स्रोत पनि सार्वजनिक गर्न हर्क साम्पाङको माग


काठमाडौं, चैत ३० । प्रधानमन्त्री तथा मन्त्रीहरूको करोडौँ रुपैयाँ बराबरको सुनलगायत सम्पत्ति विवरण सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सम्पत्तिको स्रोतसमेत स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण मात्र सार्वजनिक हुनु पर्याप्त नभएको उल्लेख गर्नुभएको छ। उहाँले सम्पत्तिको स्रोतसमेत खुलाउनुपर्नेमा जोड दिनुभएको हो।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो । स्रोतबिनाको सम्पत्ति त फेरि घुमाई फिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रस्ट्याइदिनु पर्छ । जय देश !’ भन्दै उहाँले टिप्पणी गर्नुभएको छ।

उहाँको भनाइ सार्वजनिक सम्पत्ति विवरणको पारदर्शिता र सुशासनसँग जोडिएको रूपमा हेरिएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको स्रोत स्पष्ट हुनुपर्ने माग पछिल्लो समय विभिन्न राजनीतिक वृत्तमा उठ्दै आएको छ।