जनता टाइम्स

३० चैत्र २०८२, सोमबार २०:४५

नेपाली कांग्रेसमा गहिरियो विभाजन, पूर्णबहादुर खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति जारी


काठमाडौं, चैत ३० । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको अवस्थामा  पूर्णबहादुर खड्काले सोमबार ‘कार्यवाहक सभापति’ कै हैसियतमा प्रेस विज्ञप्ति जारी गरेपछि कांग्रेसभित्रको किचलो फेरि सतहमा आएको हो।

कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाले जेनजी आन्दाेलनका नाममा भएकाे आक्रमणमा घाइते भए पछि उपचारका लागि विदेश जानुअघि खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिनुभएको थियो। त्यसपछि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गरी थापालाई सभापति घोषणा गरेको थियो।

तर खड्काले जारी गर्नुभएको विज्ञप्तिमा उक्त विशेष महाधिवेशनलाई ‘कथित’ भन्दै त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिन नहुने स्पष्ट पार्नुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै निर्वाचन आयोगले बहुमतका आधारमा गरेको निर्णय पार्टी विधान, संविधान तथा दलसम्बन्धी कानुनी व्यवस्थाविपरीत रहेको दाबी गर्नुभएको छ।

विज्ञप्तिमा २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिबाट संशोधनसहित पारित भइसकेको उल्लेख गरिएको छ। सो निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको भन्दै खड्काले त्यसलाई एकपक्षीय कदमको संज्ञा दिनुभएको छ।

उहाँले विशेष महाधिवेशनबाट बनेको भनिएको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई सार्वजनिक भाषणमार्फत खारेज गर्ने घोषणा गरेको विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। विज्ञप्तिमा क्रियाशील सदस्यता कुनै नेताको हार–जीतसँग मात्र नभई पार्टीको ऐतिहासिक संघर्ष, लोकतन्त्रको आन्दोलन, शहीद परिवारको सम्मान र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएको उल्लेख गरिएको छ।

खड्काले पार्टीभित्र देखिएको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु ‘बदनियतपूर्ण’ भएको आरोप लगाउनुभएको छ। खड्काले निर्धारित कार्यतालिकाअन्तर्गत वितरण भएका सदस्यता खारेज भएको र पुनः अध्यावधिक गर्नेले मात्रै महाधिवेशनमा भाग लिन पाउने भन्ने धारणा अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक रहेको बताउनुभएको छ।

विज्ञप्तिमा पार्टीको पन्ध्रौँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न गरिने स्पष्ट पारिएको छ। छुटेका सदस्यलाई अवसर दिँदै महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ।

यस घटनाक्रमले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप सतहमा ल्याएको छ। विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति बनाइएकोमा त्यसलाई अस्वीकार गर्दै खड्काद्वारा कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरिनुले पार्टीभित्रको विभाजन झन् गहिरिएको राजनीतिक वृत्तमा चर्चा छ।