जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार ०९:०९

युवाको मानसिक स्वास्थ्य र प्रविधिमैत्री सुलभ स्वास्थ्य सेवा वाग्मती प्रदेश सरकारकाे प्राथमिकता : स्वास्थ्य मन्त्री किरण थापा मगर


हेटौंडा, वैशाख १ । वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले  युवा पुस्ताको अठोट, नवीन सोच र सामाजिक न्यायप्रतिको सक्रियताले समाजमा नयाँ उत्साह थपेको बताउनुभएको छ ।

नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विगतका जनआन्दोलन तथा हालैको ‘जेन्जी (Gen Z) आन्दोलन’ ले समाजमा ल्याएको चेतना र परिवर्तनको लहरलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने स्पष्ट पार्नु भएकाे छ । स्वास्थ्य क्षेत्रमा पनि प्रविधिमैत्री सेवा र पारदर्शी प्रणालीको मागलाई महत्व दिँदै वाग्मती प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै आएको मन्त्री मगरले बताउनुभएको छ।

उहाँका अनुसार नयाँ वर्ष २०८३ मा युवाहरूको मानसिक स्वास्थ्य, प्रविधिमा आधारित आधुनिक उपचार पद्धति तथा सबैका लागि सुलभ स्वास्थ्य सेवा सरकारको मुख्य प्राथमिकतामा रहनेछ। प्रदेशका प्रत्येक नागरिकलाई गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।  ‘नयाँ वर्ष २०८३ मा हाम्रो मुख्य प्राथमिकता युवाहरूको मानसिक स्वास्थ्य, प्रविधिमा आधारित आधुनिक उपचार पद्धति र सबैका लागि सुलभ स्वास्थ्य सेवा हुनेछ । हामी प्रदेशका प्रत्येक नागरिकलाई गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध छौ’, उहाँले भन्नु भएकाे छ ।

मन्त्री मगरले नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवलाई समेट्दै स्वस्थ र समृद्ध बागमती प्रदेश निर्माणमा सबैलाई जुट्न आह्वान गर्नुभएको छ। साथै, आगामी दिनमा अझ प्रभावकारी योजना, नवीन प्रविधिको प्रयोग, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तथा आधुनिक स्वास्थ्य सेवा प्रणाली निर्माणमा विशेष ध्यान केन्द्रित गरिने जानकारी दिनुभयो।  । ‘नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवलाई समेट्दै एक स्वस्थ र समृद्ध वाग्मती प्रदेश निर्माणमा जुट्न म सबैमा आह्वान गर्दछु’, उहाँकाे अपिल छ ।

उहाँले नयाँ वर्ष २०८३ सम्पूर्ण नेपालीका लागि खुसीयाली, शान्ति र समृद्धिको वर्ष बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दै सबै नागरिकमा आपसी सद्भाव, सहकार्य र सकारात्मक सोचको विकास होस् भन्ने कामना गर्नुभएको छ ।