रामेछाप, वैशाख ५ ।रामेछापकाे लिखु तामाकाेशी गाउँपालिका-२ सैपुमा आगामी वैशाख १० देखि १२ गतेसम्म वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले वडा खेलकुद विकास समितिद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा विजेता टोलीलाई नगद रु १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उपविजेता टोलीले नगद रु ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै चौथो स्थान प्राप्त गर्ने टोलीले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
विधागततर्फ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २ हजार प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर तथा लिब्रोलाई जनही नगद रु १ हजारका दरले पुरस्कृत गरिने वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो।
पछिल्लो समय जिल्लाका अन्य स्थानमा हुने खेलसँग जुधेको कारण प्रतियोगिता स्थगित भएको भन्ने भ्रम फैलिएकोप्रति आयोजकले ध्यानाकर्षण गराउँदै त्यस्तो भ्रममा नपर्न सम्पूर्ण खेलाडी तथा दर्शकलाई आग्रह गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले वैशाख ९ गते बेलुकासम्म टिम दर्ता गराइसक्नुपर्नेछ। खेल वैशाख १० गते बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्