रामेछाप, वैशाख ६ । बिहानको घामले डाँडाको टुप्पो छोएसँगै केही क्षणमै कुहिरोले ढाकिदिने त कहिले झलमल्ल घाम लाग्ने रहस्यमय वातावरण । यही ठाउँमा छ खाँडादेवी मन्दिर- जहाँ आस्था, इतिहास र प्रकृतिको अद्भुत संगम भेटिन्छ ।
खाँडादेवी गाउँपालिका वडा नं. २ र ७ को सिमानामा, समुद्री सतहबाट करिब १९८५ मिटर उचाइमा अवस्थित यो शक्तिपीठ पछिल्लो समय तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि ‘नजिकको स्वर्ग’ जस्तै गन्तव्य बन्दै गएको छ ।
बिपी राजमार्गबाट केही दूरीमै पर्ने भएकाले तराईबाट काठमाडौं आउजाउ गर्ने यात्रुहरूका लागि खाँडादेवी पुग्नु अब कठिन यात्रा होइन, बरु यात्राकै एउटा सुन्दर विश्राम बनेको छ । गर्मीले सताइरहेका दिनमा यहाँको चिसो हावा र हरियालीले थकित मनलाई सहजै शान्त बनाइदिन्छ ।
आस्था जहाँ शताब्दीयौँदेखि जीवित छ
खाँडादेवी मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो सदियौँदेखि जगेर्ना गरिएको विश्वासको केन्द्र हो । रामेछाप जिल्ला को पश्चिमी भेगमा रहेको यस शक्तिपीठमा विशेषगरी चैते दशैँ र बडादशैँमा लाग्ने मेलाले हजारौँ श्रद्धालुलाई एकै ठाउँमा ल्याउँछ ।

त्यस बेला देवीलाई चढाइने पञ्चवली, बज्ने पञ्चेबाजा र भक्तजनको आस्था- यी सबैले मन्दिर परिसरलाई एक जीवित संस्कृतिको उत्सवमा परिणत गरिदिन्छ । दशैँ मात्र होइन, वर्षभरि नै विभिन्न जिल्लाबाट भक्तजनहरू पूजा, वली र मनोकामना लिएर यहाँ आइपुग्ने गर्छन् । अन्य समय पनि यो मन्दिरमा दैनिक पूजा गर्ने र वली पूजा लिएर जाने दर्शनार्थीहरु प्रशस्तै हुन्छन् ।
किंवदन्तीले बुनेको इतिहास
स्थानीय कथनअनुसार रोशी खोला र सुनकोशी नदीको संगम आसपास देवीले शुम्भ–निशुम्भ नामका दैत्य वध गरी खड्ग पखाल्नुभएको र सोही खड्ग खाँडादेवी क्षेत्रमा गाडिएको विश्वास गरिन्छ ।
खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार पछिल्ला पटक विक्रम संवत् १५१५ माघ १५ गते देवीको शिला प्रकट भएको मान्यता छ । मन्दिरमा सुरक्षित रहेको विसं १५७३ सालको घण्टाले यसको प्राचीनता अझ पुष्टि गर्छ । तर यो मन्दिर मानव सभ्यताको विकाससँगै विकास हुँदै आएको मानिन्छ ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यहाँ सहायक किल्ला स्थापना गरेको इतिहास छ । युद्धअघि देवीसँग आशीर्वाद मागिएको र विजयपछि शिला राजधानी लैजान खोज्दा अलप भएको जनश्रुति आज पनि स्थानीयहरू गर्वका साथ सुनाउँछन् । अलप भएको शिला खाँडादेवीमा नै आए पछि पृथ्वीनारायण शाहले नै खाँडादेवी रहेकी देवीलाई बाेका, मंगलादेवीलाई भाले, भैरवीलाई राँगा, कमलामाईलाई परेवा र गणेशलाई हाँस बली दिने प्रचलन चलाएका र त्यसको लागि दरबारबाट नै सोही समयदेखि भेटी आउने गरेको भनाइ छ । २००४ सालसम्म दरबारबाट आउने सो भेटी त्यस पछि रोकिएको थियो । बिचमा पुजारीहरूले गर्दै आएको सरकारी पूजा अहिले खाँडादेवी विकास काेषले गर्दै आएको छ।
प्रकृतिको रंगमञ्च
खाँडादेवी पुग्नु केवल दर्शन गर्नु मात्र होइन, त्यो एक अनुभव हो । यहाँबाट दक्षिणतर्फ फैलिएको महाभारत शृङ्खला, नागबेली परेको सुनकोशी र तामाकोशी नदी, अनि उत्तरतर्फका हरिया डाँडाहरू-यी सबैले दृश्यलाई चित्रझैँ बनाइदिन्छन् ।
वसन्तमा लालीगुराँसले राताम्य हुने डाँडाकाँडा, शान्त गाउँहरू र पहाडी जीवनशैलीले यात्रालाई अझ अर्थपूर्ण बनाउँछ ।
एउटा यात्रामा धेरै गन्तव्य
खाँडादेवीको यात्रालाई अझ समृद्ध बनाउन बिपी मार्गमा नै रहेका कुशेश्वर महादेव मन्दिर, विश्वामित्र गुफा, शैलुङ, दोलखा भीमसेन र कालिञ्चोक जस्ता स्थलहरू पनि घुम्न सकिन्छ । एक–दुई दिन थप समय निकाल्न सकिएमा यो क्षेत्र समग्र धार्मिक–पर्यटकीय ‘सर्किट’ नै बन्न सक्छ ।
सहज पहुँच, विविध बाटा
काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा रहेको खाँडादेवी पुग्न बनेपा–धुलिखेल–सिन्धुलीको नेपालथोक हुँदै बिपी राजमार्ग प्रयोग गर्न सकिन्छ । मूलकाेट, सित्खा, भिरपानी हुँदै गोगनपानीबाट पुगिने बाटो होस् वा तराईतर्फबाट खुर्कोट हुँदै आउने मार्ग वा दाेलखाकाे चरिकोटबाट मन्थली हुँदै पकरबास भएर आउने सडक हरेक यात्राले फरक अनुभव दिन्छ ।
मन्थलीबाट मात्र २१ किलोमिटरको दूरी पार गरेपछि पनि मन्दिर पुग्न सकिन्छ ।
बढ्दो आकर्षण
खाँडादेवीमा अहिले बडादशैँ र चैतेदशैँमा यहाँ विशेष सरकारी पूजा हुने गर्दछ । जसलाई खाँडादेवी विकास कोषले व्यवस्थापन गर्दै आएको छ ।
धार्मिक आस्था, ऐतिहासिक विरासत र प्राकृतिक सौन्दर्यको त्रिवेणी बनेको खाँडादेवी आन्तरिक पर्यटनको नयाँ केन्द्रका रूपमा उभिँदै छ । विशेषगरी तराई र काठमाडौं उपत्यकाका श्रद्धालुका लागि छोटो दूरीमै पुग्न सकिने यो गन्तव्य अब केवल मन्दिर मात्र होइन एक अनुभव, एक यात्रा र एक शान्तिको खोज बनेको छ ।













प्रतिक्रिया दिनुहोस्