काठमाडौं, बैशाख ७ । रास्वपा प्रवक्ता मनिष झालाई पत्रकारले निकै निर्मम प्रश्न सोधेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारको घेराउमा प्रवक्ता झा पर्नुभएको हो । बैठकले गृहमन्त्री सुधन गुरूङको गम्भीर काण्डबारे केही नबोलेपछि पत्रकारले प्रवक्तालाई गृहमन्त्रीको काण्डमा बोल्नै नसक्ने हो भन्दै प्रश्न तेस्र्याए ।
प्रवक्ता झालाई गृहमन्त्री सुधन गुरूङको सम्पत्ति स्रोतबारे आइरहेका विषयमा लगातार प्रश्न सोधियो । एक जना पत्रकारले गृहमन्त्रीका विषयमा रास्वपाका नेताहरू बोल्नै नसक्ने हो ? भनेर सोधे। त्यसको जबाफमा प्रवक्ता झा अलि कडकिनु भयो । ‘सबै कुरा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय यी चार तहको हुन्छ। जुन कुराको प्रस्ताव र छलफल नै यथष्ट भइसकेको छैन भने निर्णय सुनाउँदै गर्न हुन्छ र ?’ झाले उल्टै प्रश्न गर्नुभयो ।
कोहीले बैठकमा यस विषय उठाएको भए पार्टीका नेताहरूले जबाफ दिन जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। ‘रिपोर्टिङमा उठाउनुभएको भए नेता तथा पदाधिकारी यसको जबाफ दिनका लागि जिम्मेवार हुनुपर्थ्यो,’ झाले भन्नुभयो, ‘प्रसंग नआउँदै गर्दा सम्भवत आवश्यक छलफल बाँकी छ, समय बाँकी छ। अहिलेका लागि यसलाई प्रस्तावका रूपमा भन्दा पनि छलफल बाँकी नै छ भन्नेमा लिऔं, यसमा प्रश्न उठाउन नपाइने भन्ने होइन, नेताहरूसँग सुझबुझ, प्रक्रिया र यसअघि गरिएका नजिर पनि छ। हिजो नै पार्टी सभापतिले अहिले नै मूल्यांकन गरेर निष्कर्षमा पुग्ने समय आएको छैन है भनेर बोल्नुभएको छ।’
उहाँले गृहमन्त्री सुधनको विषयमा व्यक्तिगत रूपमा आफूले कुनै टिप्पणी नगर्ने पनि बताउनु भयो । यसपछि प्रवक्ता झालाई पत्रकारहरूले श्रम मन्त्री रहेका बेला दीपककुमार साहलाई यी चरणहरू पार नगरी हटाइएको कुरा उठाएका थिए। यसको जबाफमा प्रवक्ता झाले त्यस्तो होइन भन्दै तर्कनुभयो ।
उनकाअनुसार केन्द्रीय समिति बैठकका एजेन्डा केही दिनअघि नै केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो। ती एजेन्डामा विविध पनि थियो। तर कसैले प्रश्न उठाएनन । रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार गृहमन्त्री सुधन गुरूङका विषयमा आजको केन्द्रीय समिति बैठकमा कसैले कुरा नै उठाउने आँट गरेनन। आजको बैठकले प्रधानमन्त्री बालेन्द्र शाह निकट भूपदेव शाहलाई महामन्त्री चयन गर्ने, लेबी रकम परिमार्जन गर्नेलगायत विभिन्न निर्णयहरू गरेको छ।













प्रतिक्रिया दिनुहोस्