काठमाडौं, वैशाख ८ । राजनीतिक विश्लेषक मुमाराम खनालले वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल ७५ वर्षमा ‘रसातलको अन्तिम बिन्दु’मा पुगेको टिप्पणी गर्नुभएको छ ।
उहाँले वि.सं. २००७ सालपछि ३७ वर्षको उमेरमै बीपी कोइराला गृहमन्त्री बनेको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै हालका गृहमन्त्री सुधन गुरुङको नियुक्तिसँग तुलना गर्नुभएको छ । खनालले गृहमन्त्री नियुक्तिको आधार, प्रक्रिया र योग्यता सम्बन्धी प्रश्न उठाउँदै यसबारे बालेन्द्र शाह, रवि लामिछाने तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्व जबाफदेही हुनु पर्ने बताउनुभएको छ । ‘उनी किन, कसरी र केको आधारमा गृहमन्त्री भए भन्ने कुरा प्रम बालेन्द्र शाह, सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई थाहा होला तर उनी गृहमन्त्री बन्ने बित्तिकै नेपालको राज्य प्रणाली यहाँभन्दा तल खस्न सक्ने कुनै ठाउँ छैन भन्ने कुरा गुरुङका आन्दोलनताका अभिव्यक्ति, व्यवहार, क्षमता र संलग्नताले देखाई सकेको थियो’, खनालको धारणा छ ।
आजभन्दा ७५ वर्षअघि मुलुकले पाएको गृहमन्त्री र अहिलेको गृहमन्त्रीको व्यक्तित्व तुलना गर्दा यो केवल पतन होइन, महापतनको अन्तिम अवस्था भएकाे उहाँकाे धारणा छ । ‘आजभन्दा ७५ बर्ष अगाडि गृहमन्त्रीको रुपमा मुलुकले पाएको बीपीको व्यक्तित्व र आज ७५ बर्षपछि मुलुकले पाएको गृहमन्त्रीको व्यक्तित्वको तुलना गर्दा यो राज्य, समाज र राजनीतिको चरम पतन मात्र होइन, महापतनको अन्तिम बिन्दु हो, सुदन गुरुङ्ग र उनको नैतिकतामाथि बहस गर्नु बेकारको समय बर्बादी मात्र हो’, उहाँकाे धारणा छ ।
खनालले वर्तमान अवस्थालाई ‘नैतिकतामाथि बहस गर्न पनि समय खेर फाल्नुजस्तै’ भन्दै आलोचना गर्नुभएको छ । उहाँले व्यङ्ग्यात्मक शैलीमा ७५ वर्षमा नेपाली राजनीति रसातलमा पुगेको ‘उपलब्धि’का लागि बधाई दिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्