रामेछाप, वैशाख ८। रामेछापमा भोलिबाट जिल्लास्तरीय १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५ सय ४५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन्।
आठवटा मध्य जिल्लाका तीन स्थानीय तहले भने खेलमा सहभागिता नजनाउने भएका छन् । जिल्ला खेलकुद विकास समितिले आज पत्रकार सम्मेलनमार्फत खाँडादेवी गाउँपालिका मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाले प्रतियोगितामा भाग नलिने भएका छन्।
उहाँका अनुसार ती स्थानीय तहहरूले आफूहरूका लागि अनुकूल समय नपरेको भन्दै प्रतियोगितामा सहभागी नहुने जानकारी दिएका हुन्। विशेषगरी कक्षा १२ को परीक्षाको तयारीलाई कारण देखाउँदै उनीहरूले सहभागिता जनाउन नसक्ने बताएका छन्।
प्रतियोगितामा अन्य पाँच स्थानीय तहका खेलाडीले भाग लिने छन् । जसमा मन्थली नगरपालिकाबाट १ सय ४५ जना, दोरम्बा शैलुङ्ग गाउँपालिका बाट १ सय ५ जना, सुनापती गाउँपालिका बाट ९० जना, लिखु तामाकोसी गाउँपालिका बाट १ सय २५ जना र आयोजक खाँडादेवी गाउँपालिका बाट ८० जना सहभागी हुने अध्यक्ष कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतियोगितामा भलिबल, कवडी, तेक्वान्दो, उस्सु, कराँते र एथलेटिक्स विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि खाँडादेवी गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उहाँले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्