जनता टाइम्स

९ बैशाख २०८३, बुधबार १०:०९

कम्युनिष्ट आन्दोलनको भविष्य व्यक्तिकाे इच्छाले हाेइन समाजको वस्तुगत आवश्यकताले निर्धारण गर्छ : प्रदीप ज्ञवाली


काठमाडौं, वैशाख ९ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनको भविष्य व्यक्तिगत इच्छाले होइन, समाजको ऐतिहासिक विकासक्रम र वर्गीय संरचनाको आवश्यकताले निर्धारण गर्ने बताउनुभएको छ।

नेपाल कम्युनिष्ठ पार्टी स्थापनाको ७७ औँ वर्षगाँठको अवसरमा आफ्नो धारणा राख्दै उहाँले राणाशासनको कठोर परिस्थितिका बीच पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतिदेवीको अगुवाइमा नेकपाको स्थापना भएको स्मरण गर्नुभयाे। उहाँका अनुसार, उक्त ऐतिहासिक कदमले राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उहाँले विगत झण्डै आठ दशकको अवधिमा कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, सामाजिक न्याय, सुरक्षा र समावेशी प्रणालीको निर्माणमा अग्रणी भूमिका खेलेको उल्लेख गर्नुभयो। ‘यी उपलब्धिहरूप्रति हामी गर्व गर्छौँ,’ उहाँले भन्नुभएको छ।

आन्दोलनले विभाजन, सिद्धान्त र व्यवहार बिचको विरोधाभास, जनताका मुद्दाबाट टढा हुने तथा व्यक्तिवादी विचलनजस्ता समस्याबाट गम्भीर धक्का पनि व्यहोरेको उहाँको भनाइ छ। यस्ता चुनौतीका बाबजुद आन्दोलन ‘दुबोझैँ पुनः मौलाउँदै आएको’ उहाँले उल्लेख गर्नुभयो।

उहाँले गत वर्ष नेपाली कम्युनिष्ट आन्दोलनले असाधारण धक्का व्यहोरेको स्वीकार गर्दै यसैलाई आधार बनाएर आन्दोलनको भविष्य समाप्त भएको घोषणा गर्नेहरू सक्रिय रहेको टिप्पणी गर्नुभयो। ‘विचारधाराको मृत्यु’ र ‘इतिहासको अन्त्य’ जस्ता अवधारणामाथि टिप्पणी गर्दै उहाँले फ्रान्सिस फुकुयामाको सन्दर्भ जोड्नुभएको छ।

‘हाम्रा आफ्नै “फुकुयामा”हरूले गरेका भविष्यवाणी पनि अन्ततः असफल हुनेछन्,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘किनभने कम्युनिष्ट आन्दोलनको अस्तित्व र भविष्य कुनै व्यक्तिको इच्छाले होइन, समाजको वस्तुगत आवश्यकताले निर्धारण गर्छ।’

यद्यपि वर्तमान चुनौतीलाई सामान्य रूपमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो। आन्दोलनले आत्मसमीक्षा, संरचनागत पुनर्संरचना तथा नयाँ परिस्थिति बुझ्न सक्ने अन्तरदृष्टिको आवश्यकता रहेको उहाँको भनाइ छ। ७७औँ स्थापना दिवसको अवसरमा उहाँले आन्दोलनलाई नयाँ ऊर्जा दिने सङ्कल्प गर्न आह्वान गर्नुभएको छ।

यस अवसरमा उहाँले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, आन्दोलनप्रति समर्पित नेता–कार्यकर्ता तथा न्यायप्रेमी जनसमुदायप्रति हार्दिक अभिनन्दन व्यक्त गर्नुभएको छ।