काठमाडौं, वैशाख ९ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कम्युनिष्ट आन्दोलनलाई आत्मसमीक्षा गर्दै नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा आफ्नो धारणा राख्दै उहाँले पार्टी स्थापनामा नेतृत्व गर्ने पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवीप्रति श्रद्धा व्यक्त गर्नुभएको छ। साथै, जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
उहाँले कम्युनिष्ट आन्दोलनका शहीदहरू तथा मनमोहन अधिकारीलगायत अग्रजहरूको योगदानलाई स्मरण गर्दै उपलब्धि र कमजोरीको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ। उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीको स्थापना निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक व्यवस्था स्थापना तथा सामाजिक न्याय र समाजवाद प्राप्तिका लागि भएको थियो।
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पछिको दशकलाई उहाँले एकातिर कम्युनिस्ट पार्टीले झण्डै दुईतिहाइ सरकार गठन गर्न सफल भएको कालखण्डका रूपमा र अर्कोतर्फ आन्दोलनकै इतिहासमा ठुलो असफलता र पराजयको दशकका रूपमा चित्रण गर्नुभएको छ। ‘स्थापना पछिको अवधिमा आन्दोलनले उल्लेखनीय उपलब्धि हासिल गरे पनि गम्भीर क्षति समेत व्यहोरेको उहाँले उल्लेख गर्नुभयो। ‘सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ, फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन्, हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ’,उहाँको भनाइ छ ।
उहाँले पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै यसमा आफ्नै कमजोरी र त्रुटिको प्रमुख भूमिका रहेको बताउनुभयो। ‘हामीले सफलता जस्तै पराजयको जिम्मेवारी पनि लिनुपर्छ,’ उहाँको भनाइ छ।
उहाँले अब समग्र कम्युनिष्ट आन्दोलन, विशेषगरी पछिल्लो दशक र सरकार सञ्चालन अवधिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका कमजोरी सच्याउनुपर्ने बताउनुभएको छ । पार्टीलाई समयानुकूल पुनर्गठन गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा र दिशाका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
स्थापना दिवसको अवसरमा उहाँले नेकपा एमालेलाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गर्न आह्वान गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्