काठमाडौं, वैशाख ९ । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। उहाँले पदमा रहँदा नैतिकता, सुशासन र जनविश्वासलाई सर्वोपरि ठानेर राजीनामा दिएको बताउनुभएको हो।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै उहाँले पछिल्ला दिनहरूमा आफ्नो शेयर तथा अन्य विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताउनुभएको छ ।
उहाँले सार्वजनिक पदमा नैतिकता सबैभन्दा ठुलो मूल्य भएको उल्लेख गर्दै जनविश्वासभन्दा ठुलो शक्ति कुनै नहुने धारणा राख्नुभएको छ। साथै, हाल देशमा देखिएको सुशासन, पारदर्शिता र जबाफदेहिताको मागसँग जोडिएको जेनजी आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको उहाँको भनाइ छ।
उहाँले अहिले बनेको सरकार ४६ जना सहिदहरूको रगत र बलिदानको आधारमा बनेको उल्लेख गर्दै त्यसप्रति उठ्ने प्रश्नको जवाफ नै नैतिकता हुनुपर्ने बताउनुभएको छ। आफ्नो विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा हितको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ।
उहाँले आजकै मितिबाट लागू हुने गरी पदबाट अलग भएको घोषणा गर्दै आफूले नैतिक जिम्मेवारी पूरा गरेको बताउनुभएको छ। उहाँले सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सम्बोधन गर्दै यदि साँच्चै परिवर्तन चाहिएको हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ।
पार्टी भित्र र बाहिर ब्यापक आलाेचना भए पछि अन्तत: उहाँले राजीनामा घाेषणा गर्नु भएकाे हाे । राजीनामा दिनु अघि गुरुङ प्रधानमन्त्री बालेन्द्र साहलाई भेट्न जानुभएकाे थियाे ।
यस्तो छ गुरुङले लेख्नु भएको फेसबुक स्ट्याटस :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जबाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनै पर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।













प्रतिक्रिया दिनुहोस्