काठमाडौं, वैशाख ९ । रामबहादुर थापा ले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा (एमाले)को भूमिका इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण रहेको बताउनुभएको छ।
पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा रहेको एमालेले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। यद्यपि, पछिल्ला निर्वाचन परिणामहरू भने प्रतिकूल आएको उहाँको भनाइ थियो।
उहाँले विगत ७७ वर्षमा नेपालका कम्युनिष्टहरूले विभिन्न ऐतिहासिक मोडहरूमा निर्णायक भूमिका खेलेको स्मरण गर्नुभयो। २००७ सालको लोकतान्त्रिक क्रान्ति, २०४७ सालको लोकतन्त्र पुनर्स्थापना तथा जनआन्दोलन २०६२–६३ मार्फत स्थापित गणतन्त्रमा कम्युनिष्ट आन्दोलनको योगदान महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।
स्थापना दिवसलाई उत्सवका रूपमा मात्र नभई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीभित्र एकता, रूपान्तरण र नयाँ सङ्कल्प आवश्यक रहेको बताउनुभयो। वर्तमान अवस्थामा समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको स्वीकार गर्दै उहाँले पराजयका कारणहरूको समीक्षा भइरहेको जानकारी दिनुभयो। ‘आजको दिन नेपालका कम्युनिष्टहरूले आत्मसमीक्षा गरेर अघि बढ्ने दिन पनि हो,’ उहाँले भन्नुभयो।
एमालेका १०औँ र ११औँ महाधिवेशनले नै पराजयका कारण र भविष्यका दिशाबारे स्पष्ट सङ्केत गरिसकेको उहाँको भनाइ थियो। पार्टीभित्र र बाहिर देखिएको दक्षिणपन्थी प्रवृत्ति तथा अराजकतावादलाई परास्त गर्न नसक्नु नै पराजयको मुख्य कारण रहेको उहाँले उल्लेख गर्नुभयो।
‘समाजवादको विजयका निम्ति हामीले आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न जरुरी छ, साथै सांगठनिक रूपमा अराजकतावादलाई पनि परास्त गर्न आवश्यक छ। यी प्रवृत्तिहरूलाई परास्त गरेर मात्रै समाजवाद विजयी हुन सक्छ,’ उहाँले भन्नुभयो।
उहाँले नेकपा (एमाले) सबै प्रकारका प्रतिकूलता पार गर्दै वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै अब ती चुनौतीहरू सामना गर्न पार्टी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
साथै, देशको दुईतिहाइ जनमत अझै पनि कम्युनिष्ट आन्दोलनकै पक्षमा रहेको र त्यसको मूलधार एमाले नै भएको दाबी उहाँले गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्