काठमाडौं, वैशाख ९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ गते भएको षड्यन्त्रको जगमा भदौ २४ गते देशलाई ध्वंश पारिएको बताउनुभएको छ।
नेकपाको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त विषय जनतासमक्ष स्पष्ट रूपमा राख्न नसक्दा एमालेले पछिल्लो निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो। उहाँले छोटो समयमै बाहिर आएका घटनाक्रमहरूले एमालेले यसअघि उठाएका आशंकाहरू प्रमाणित हुँदै गएको दाबी गर्नुभयो। “छोटो समयमै दृश्यहरू जसरी बाहिर आउँदै छन्, हामीले गरेका आशंकाहरू सही प्रमाणित हुँदै छन्”, उहाँले भन्नुभयो।
सुशासनका दृष्टिले एमालेका नेता तथा कार्यकर्ताहरू अन्य दलका भन्दा इमान्दार रहेको दाबी गर्दै उहाँले वर्तमान सरकारका मन्त्रीहरू तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न चुनौती दिनुभयो।
सूचना तथा प्रविधिको दुरुपयोगका कारण जनताको मनोविज्ञानमा नकारात्मक प्रभाव पारिएको उहाँको भनाइ थियो। यसपटक जनताले सम्बन्ध नतोड्ने तर मत परिवर्तन गर्ने नीति लिएको उहाँले उल्लेख गर्नुभयो। “जनताको भावनाको दण्डको भागेदार हामी भएका छौँ”, उहाँले भन्नुभयो।
जनतासमक्ष सत्य कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा एमाले जनताबाट टाढिन पुगेको स्वीकार गर्दै उहाँले अब पुनः जनतासँगको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले पार्टी सत्ताकेन्द्रित र नेतामुखी बन्दा जनविश्वास कमजोर भएको बताउँदै अब त्यसलाई सुधार्दै जनतामुखी राजनीति गर्नुपर्नेमा जोड दिनुभयो। “हामीले आफूलाई जनतातिर फर्काउनु पर्छ, जनताको मन जित्नुपर्छ र जनतासँगको संवादमा जानुपर्छ”, उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्