जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार ०७:०५

आज २० औँ लोकतन्त्र दिवस, सहिदप्रति श्रद्धाञ्जली र उपलब्धिको स्मरण गरेर मनाउँदै 


काठमाडौं, वैशाख ११। आज देशभर २०औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद्को पुनःस्थापना गर्दै आफू कार्यकारी अधिकारबाट हटेको घोषणा गर्नुभएको दिनको स्मरणमा हरेक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ । उहाँले विसं २०५९ जेठ ८ गते संसद् विघटन गरी शासन सत्ता आफ्नाे हातमा लिनुभएकाे थियाे ।

निरङ्कुश शासनविरुद्ध आन्दोलनरत सात राजनीतिक दल तथा तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को संयुक्त सहभागितामा सम्पन्न जनआन्दोलनको बलमा देशमा लाेकतन्त्र स्थापना भएकाे थियाे। सोही घोषणाअनुसार विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

उक्त ऐतिहासिक जनआन्दोलनपश्चात् मुलुकमा लोकतन्त्र स्थापना भई दुईपटक संविधानसभा निर्वाचन मार्फत विसं २०७२ असोज ३ गते नेपालकाे संविधान जारी भएकाे थियाे । नेपालको संविधान २०७२ ले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा ल्याएकाे हाे ।

विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा विसं २०६५ सालदेखि प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने परम्परा बसालिएको हो ।