काठमाडौं, वैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र संसदीय दलको नेता चयन प्रक्रिया सहमतिको प्रयासमै अड्किएको छ। निर्वाचन प्रक्रिया रोक्दै सहमतिमार्फत नेतृत्व टुंग्याउने पहल भए पनि शीर्ष नेताबीच साझा समझदारी बन्न सकेको छैन।
दलको नेता चयनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरिएको समितिले निरन्तर छलफल गरिरहेको भए पनि निष्कर्ष निस्किएको छैन। महामन्त्री प्रदीप पौडेलले सहमतिको प्रयास जारी रहेको बताउँदै अब ढिलाइ नगर्ने संकेत गर्नुभएको छ।
नेतृत्वका आकांक्षीहरूबीच आ–आफ्नै सर्त र प्राथमिकता रहँदा सहमति कठिन बनेको देखिन्छ। अर्जुननरसिंह केसीले सहमति भए मात्र स्वीकार गर्ने र निर्वाचनमा नउत्रिने स्पष्ट पार्नुभएको छ भने भीष्मराज आङ्देम्बे र मोहन आचार्य पनि आ–आफ्नो दाबीमा कायम हुनुहुन्छ।
दलभित्रको यो अन्योलले नेतृत्व चयन मात्र होइन, संसदमा प्रतिपक्षको भूमिकामाथि समेत प्रश्न उठाउन थालेको छ।













प्रतिक्रिया दिनुहोस्