जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार १६:५१

सुधन गुरुङ हिँडे, उनकै पिएले चलाइरहेकाछन् गृह मन्त्रालय


काठमाडौं, वैशाख १३ । सुधन गुरुङको बहिर्गमनपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेन आफैले सम्हाल्नु भएको गृह मन्त्रालयमा सुधनकै हालीमुहाली रहेको तथ्य उजागर भएको छ ।

अकुत सम्पत्ति र शेयर खरिद प्रकरणको विषयमा सार्वजनिक भएको काण्डपछि सुधनले वैशाख ९ गते राजीनामा दिएर गृह मन्त्रालय छाड्नु भएको हो । उहाँले मन्त्रालय छाडे पनि आफैले नियुक्त गरेको सरकारी कर्मचारीबाहेकको पिए (स्वकीय सचिव) जेम्स कार्कीमार्फत सुधनले मन्त्रालयमा हालीमुहाली गरिरहेको तथ्यले प्रमाणित गरेको हो ।

गृहमन्त्री नियुक्त भएपछि सुधनले गत मार्च ४ तारिख कार्कीलाई स्वकीय सचिव नियुक्त गर्नुभएको थियो । हरेक समय सुधनको साथमै हिँड्ने जेम्सलाई मन्त्री नियुक्त हुनसाथ पिए बनाइएको थियो । तर मन्त्री हटेपछि पनि जेम्स भने गृह मन्त्रालयमा सरकारी कर्मचारी जसरी नै स्थायी नियुक्ति लिएको भन्दै बसेर सचिवदेखि प्रहरी मुख्यालयसम्म छायाँ मन्त्री बनेर निर्देशन जारी गरिरहेको पाइएको छ ।

व्यवसायी भट्टसँगको लामो उठबस र व्यावसायिक साझेदारी काण्ड पर्दाफास भएपछि सुधनले वैशाख ९ गते राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिए पनि स्वकीय सचिव नियुक्त जेम्स कार्की पदमा कायम रहेको भन्दै गृहमै अड्डा जमाइरहनु भएको हो ।

प्रधानमन्त्रीले मन्त्रालय सम्हालेको र उहाँले नियुक्ति दिने मन्त्रीको पद गए पनि मन्त्रीले नियुक्त गरेको स्वकीय सचिवको पद जान्न भन्ने निर्देशन दिएकोले आफू गृह मन्त्रालयमा रहिरहने र प्रधानमन्त्रीको तर्फबाट छायाँ मन्त्रीको रूपमा काम गरिरहने कार्कीले बताएको एक कर्मचारीको भनाई छ ।

‘मन्त्रीले राजीनामा दिएपछि स्वकीय सचिव स्वतः हट्छ तर यहाँ हामी नयाँ हो भन्ने याद छ भन्दै मन्त्रीका पिएले मन्त्रालय चलाउने र प्रहरी तथा प्रशासनलाई निर्देशन दिने काम गरिरहेका छन्,’ जनताटाइम्स डटकमकाे जिज्ञासामा मन्त्रालयका एक अधिकृतले भने । उनका अनुसार कार्कीले बालेन सरकार रहिरहेसम्म आफू मन्त्रालयमै रहने, गृहमन्त्रीका रूपमा सुधन नै नफर्कदासम्म प्रधानमन्त्री बालेन आफैले सम्हाल्ने र उहाँको तर्फबाट आफूले नै सबै काम गर्ने भन्दै मन्त्रालयका सचिव राजकुमार श्रेष्ठदेखि सबैलाई निर्देशन दिने गर्नुभएको छ ।

आइजी, सिडिओलाई पनि मन्त्रीकै हैसियत जसरी निर्देशन दिनुहुन्छ,’ जनताटाइम्स डटकमसँग ती अधिकारीको भनाई थियो । जेम्स यतिसम्म सक्रिय हुनुहुन्छ कि सुकुम्वासी बस्तीमा डोजर चलाउन पनि एआइजीलाई समेत निर्देशन दिँदै फिल्डमै पुग्नुभएको छ । प्रधानमन्त्री बालेन र आफ्नो नेता सुधनले नेतृत्व गर्न भनेको बताएर जेम्स सुकुम्वासी बस्तीतिर जानुभएको हो । यो प्रमाणको रूपमा लालिगुराँस मिडियाले सार्वजनिक गरेको अन्तरवार्तालाई लिन सकिन्छ ।

रवि लामिछानेलाई सघाउने सार्वजनिक घोषणा गरेरै हिँडेको लालिगुँरास मिडियाले जेम्सलाई ‘तपाईँ आफैले गृह मन्त्रालय सम्हालिरहनु भएको छ, कमाण्ड गरिरहनु भएको छ’ भन्दै मनोहरा सुकुम्वासी बस्तीबाटै प्रत्यक्ष प्रसारण गरेको दृश्य देखिएको छ । जेम्ससँग कुराकानीमा प्रश्न गर्ने क्रममा लालिगुराँस मिडियाले भनेको छ, ‘अहिले गृह मन्त्रालयको लिडिङ तपाईँले लिनुभएको छ, हिजो पनि तपाईँकै निर्देशनमा प्रहरी आयो, झडप भएपछि फर्कियो आज फेरी आफैँ आउनु भएको छ, कसरी गरिरहनु भएको छ ?’ भन्दै प्रश्न गरेको छ ।

जवाफमा जेम्सले आफै गृहमन्त्री जसरी जवाफ दिनुभएको देखिन्छ । ‘सम्माननीयज्यूकै मातहतमा छ गृह मन्त्रालय, गृहमा टिम छ, त्यसैअनुसार काम भइरहेको छ,’ जवाफमा जेम्सले भन्नुभएको छ । आइतवार मनोहरा सुकुम्वासी बस्तीमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्की आफै फिल्डमा हुनुहुन्छ । तर सुधनले नियुक्त गरेका पिए जेम्सले एआइजी कार्कीलाई समेत निर्देशन दिइरहेको पाइएको छ । अन्तरवार्ताको क्रममा जेम्सले आफू गृहमन्त्री रहे जसरी नै जवाफ दिइरहनु भएको देखिएको छ ।

सुन्नोस अन्तवार्ता

जेम्ससँग कुराकानी गर्ने सो मिडियाका अध्यक्ष तथा टीम लिडर कमल सरगम चौलागाईं आफैँ हुनुहुन्छ । चौलागाईं रास्वपा निकटकै पत्रकार हुनुहुन्छ । जेम्स कार्की राजीनामा दिएर हिड्नुभएका सुधनका सबै ब्यवस्थापन गरिदिने सहयोगीका रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ जेनजी आन्दोलनमा पनि सुधनसँगै देखिनुभएको थियो ।