जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार १७:१३

एमालेकाे सदस्यता नवीकरण जेठ मसान्तसम्म हुने, पार्टी सदस्यले भाैतिक रुपमा उपस्थिति भएरै सदस्यता नवीकरण गर्नु पर्ने 


काठमाडौं, वैशाख १३ । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरणका लागि आगामी जेठ मसान्तसम्मको म्याद तोकेको छ। यसअघि २०८२ चैत मसान्तसम्म कायम रहेको सदस्यताकाे म्याद सकिए पछि जेठ मसान्तसम्म सदस्यता नविकरण गर्ने म्याद  ताेकिएकाे हाे ।

पार्टीका महासचिव शंकर पोखरेलले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित तहलाई निर्देशन दिनुभएको छ। पार्टीले सदस्यता नवीकरण तथा वितरणको कार्यलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत प्रक्रिया अगाडि बढाउने जनाएको छ।

एमालेले पार्टी सदस्य र संगठित सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था गरेको छ। सोहीअनुसार दुवै प्रकारका सदस्यताका लागि अनलाइन फारामसमेत तयार गरिएको छ। पार्टीले भौतिक उपस्थितिसहित अनलाइन प्रविधिको प्रयोगमार्फत नवीकरण प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीको दोस्रो विधान महाधिवेशन तथा एघारौँ राष्ट्रिय महाधिवेशन–२०८२ बाट पारित विधानअनुसार सदस्यता नवीकरण अनिवार्य गरिएको उल्लेख गरिएको छ। जारी सूचनामा पार्टी सदस्य (धारा–४) र संगठित सदस्य (धारा–५) सम्बन्धी योग्यता तथा नवीकरण प्रक्रियाबारे स्पष्ट व्यवस्था गरिएको पनि जनाइएको छ।