जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार २०:५५

गङ्गाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुनेमा स्वास्थ्य मन्त्री थापाकाे विश्वास


काठमाडौं, वैशाख १३ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकास्थित गङ्गाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री कीरण थापा मगरले उद्घाटन गर्नुभएको छ। उहाँले आइतबार आयोजित कार्यक्रममा भवन उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले अस्पतालको स्तरोन्नत भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरूले सहज, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने प्रदेश सरकारको प्रतिबद्धताअनुसार यो उपलब्धि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

उहाँले उक्त कार्यमा सहयोग पुर्‍याउने सबै सरोकारवाला निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै जनताको जीवनस्तर सुधारमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा मन्त्री थापाले संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनुभयो । उहाँले गङ्गाजमुना आधारभूत अस्पताललाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार तथा अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
संघीय मामला मन्त्रालयकाे सहयाेगमा करिब ५ करोड रुपैँयाकाे लागतमा निर्माण गरिएको अस्पताल सरकारी मापदण्डअनुसार ५ शय्याको रहेको गाउँपालिकाले जनाएको छ । हाल अस्पताल स्थानीय तहले सञ्चालन गरिरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कुमारबहादुर अधिकारीकाे अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भक्त लामा,  गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, धादिङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटा लगायतले अस्पतालको सेवाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारीका अनुसार गंगाजमुना आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालमा भिडियो एक्स–रे, इसिजी, ल्याब, एक्स–रे सेवा सञ्चालनमा रहेका छन् । साथै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु पनि सञ्चालन गरिएको छ ।

साे गाउँपालिकाले २०७६ पुस २६ गते नेपालमै पहिलो पटक ग्रामीण क्षेत्रमा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसबेला पुरानो तथा सानो भवनबाट सेवा सुरु गरिएको थियो । नयाँ भवन निर्माणसँगै स्थानीयवासीले थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।