जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार २२:४६

नेकपाद्वारा प्रदेश इञ्चार्ज र संयोजकको जिम्मेवारी बाँडफाँट


काठमाडौं, वैशाख १४। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्रको कार्यविभाजन टुङ्ग्याउँदै प्रदेशस्तरका इञ्चार्ज र संयोजकहरूको जिम्मेवारी तोकेको छ।

सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सातै प्रदेशसहित विशेष संरचनामा नेतृत्वको जिम्मेवारी निर्धारण गरेको जनाएको छ।

निर्णयअनुसार कोशी प्रदेशको इञ्चार्जमा राजेन्द्र राई, मधेसमा महिन्द्र राय यादव, बागमतीमा डा. गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही तथा सुदूरपश्चिममा डा. भीम रावललाई जिम्मेवारी दिइएको छ। यस्तै, उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्य र सम्पर्क इञ्चार्जमा यशोदा सुवेदीलाई तोकिएको छ।

त्यसैगरी, पार्टीले प्रदेश संयोजकहरू पनि चयन गरेको छ। कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेसमा राजु खड्का, बागमतीमा सजल सहयात्री, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दूल हुसेन खान, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यकामा विष्णु लामिछाने र सम्पर्क संयोजकमा तारानाथ दाहाललाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश संयोजक भने हालसम्म सहमतिमा पुग्न नसकेको र छिट्टै टुंगो लगाइने जनाएको छ।