काठमाडौं, वैशाख १५। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति प्रश्न उठाउनुभएको छ।
दुई तिहाइ नजिकको बहुमत र ‘जान्नेलाई छान्ने’ भन्ने नारासहित गठन भएको सरकारले बजेट अधिवेशन आह्वान गरेको केही दिनमै अनिश्चितकालका लागि बैठक स्थगित गरेकोप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हो। महासचिव पोखरेलले सरकारले सुरुवातमा अध्यादेश ल्याउन नभएको भन्दै स्पष्टीकरण दिएको भए पनि अन्ततः संसद् स्थगित गरेरै अध्यादेश ल्याउने निर्णय गर्नुले आम नागरिकमा अन्योल सिर्जना गरेको बताउनुभएकाे छ ।
‘आम नागरिकले यसलाई कसरी बुझ्ने ?’ भन्दै उहाँले विगतमा संसद् बैठक आह्वान गर्नुअघि वा चालु संसद् रोकेर अध्यादेश ल्याउँदा कडा आलोचना गर्नेहरू अहिले आफैँले त्यही कदम दोहोर्याउँदा प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्नुभएकाे छ । उहाँले जनताले आशा गरेको ‘नयाँ नेतृत्व’प्रति विश्वास हराउने खतरा अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको धारणा व्यक्त गर्नुभएकाे छ ।
महासचिव पोखरेलले धेरै आशा गरिएका नेतृत्वप्रति निराशा उत्पन्न हुँदा त्यसले नै ठूलो संकट निम्त्याउने चेतावनी दिँदै अहिले मुलुक थप संकट झेल्ने अवस्थामा नरहेको उल्लेख गर्नुभएकाे छ । उहाँले आफूलाई ‘नयाँ’ भन्ने शक्तिहरूले यस्ता कदमबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। ‘नयाँ भनिनेहरुले सोच्नु पर्दछः- धेरै आशा गरिएकाहरुप्रतिको निराशाले नै हो संकट उत्पन्न गर्ने, यतिबेला मुलुक थप संकट झेल्ने अवस्थामा छैन’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्