जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार २२:०३

रास्वपाकै सांसद उत्रिए अध्यादेशकाे विरुद्ध : भने अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन


काठमाडौं, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद गणेश कार्की सरकारले ल्याउन लागेको अध्यादेशको विषयमा असहमति जनाउँदै सार्वजनिक रूपमा विरोधमा उत्रिनुभएको छ ।

सरकारले संसद् अधिवेशन रोक्दै पाँच वटा अध्यादेश ल्याउने तयारी गरिरहेको सन्दर्भमा उहाँले यस्तो कदम लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गर्नुभएको हो । उहाँका अनुसार झण्डै दुईतिहाइ बहुमत भएको सरकारले संसद् अधिवेशन नै रोकेर अध्यादेश ल्याउनु ‘बहादुरी नभई प्रश्न उठाउने विषय’ हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ, ‘झण्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने पछि खुल्ला होला, तर यो बहादुरी भने होइन।’

उहाँले अध्यादेश संविधानले दिएको अधिकारभित्रै रहेर ल्याइने भए पनि यसपटकको सिफारिस संविधानको मर्मअनुसार नभएको दाबी गर्नुभएको छ । ‘संविधान अक्षरले मात्र बाँच्ने दस्तावेज होइन, यसको मर्मको पालनाले जीवन्त रहन्छ,’ उहाँको भनाइ छ ।

सांसद कार्कीले विगतमा विपक्षी दलले अध्यादेश ल्याउँदा उठाइएका प्रश्नहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै विधिको पालना र जवाफदेहिता कायम हुनुपर्नेमा जोड दिनुभएको छ ।

यसैबीच, सरकारले संसद् बैठक रोकेर अध्यादेश ल्याउने तयारी गरेसँगै राजनीतिक वृत्तमा व्यापक आलोचना बढेको छ । कतिपयले यसलाई लोकतन्त्रको उपहास र निरंकुशताउन्मुख कदमका रूपमा टिप्पणी गरेका छन् । विपक्षी दलहरुले संयुक्त विज्ञप्ति नै निकालेर अध्यादेशकाे विराेध गरेका छन् ।

रास्वपाकै सांसदबाट आएको यस्तो सार्वजनिक असहमतिले अध्यादेशबारे पार्टीभित्रै फरक धारणा देखिएको छ । यसले बालेन नेतृत्वकाे रास्वापा सरकार थप आलाेचनामा परेकाे छ ।