जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १०:४६

राजनीतिक नियुक्तिमा सरकार फेरिएपछि धर्ना, जुलुस, आन्दोलन, अदालत धाउने होइन खुरुक्क पद छोड्नुपर्छ : गोकुल बास्कोटा


काठमाडौं, वैशाख १८। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले राजनीतिक आधारमा नियुक्ति पाएका पदाधिकारीहरूले सरकार परिवर्तनसँगै पद त्याग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि ‘ईफ, बट’ गर्दै धर्ना, जुलुस, आन्दोलन वा अदालत धाउने प्रवृत्ति उपयुक्त नहुने बताउनुभएको छ। “त्यो जागिर त्यही दिनबाट खुरुक्क छोडेर घर जानुपर्छ,” उहाँको भनाइ छ।

नेता बास्कोटाले एमाले, नेपाली कांग्रेस र नेकपासहितका दलहरूलाई यस विषयमा अनावश्यक किचकिच नगर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार यस्तो व्यवहारले व्यक्तिको स्वार्थ मात्र पूर्ति गर्ने तर समाजमा असन्तोष बढाउने खतरा रहनेछ।

उहाँले राजनीतिक संस्कार सुधारका लागि पदप्राप्त व्यक्तिहरूले नै जिम्मेवार व्यवहार देखाउनुपर्नेमा जोड दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ : ‘पार्टीहरूको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका व्यक्तिहरूले सरकार फेरिए पछि ईफ,बट, धर्ना, जुलुस, आन्दोलन, अदालत धाउने होइन खुरुक्क त्यो जागिर त्यै दिनबाट छोडेर घर जाने  हो, एमाले, कांग्रेस, नेकपाले किचकिच नगर है, यो विषयमा, यसले व्यक्ति हिताय र समाज रिसाय हुन्छ।’