जनता टाइम्स

१९ बैशाख २०८३, शनिबार ०७:४०

सरकारले गुम्बा र मन्दिर पनि भत्काएकोप्रति हर्क साम्पाङको आक्रोश : अब पशुपति र बाैद्ध पनि भत्काउने भए 


काठमाडौं, वैशाख १९। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन नेतृत्वकाे सरकारले सुकुम्वासी बस्ती हटाउने नाममा गुम्बा र मन्दिर पनि भत्काएको घटनाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । सुकुम्वासी बस्ती हटाउने नाममा धार्मिक संरचनासमेत भत्काइएको घटनापछि उहाँले सरकारप्रति आक्रोश पोख्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री बालेन साहको कदमप्रति प्रश्न उठाउनुभएको छ । ‘गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ ? अब भगवानले पनि धनीपूर्जा बनाएर आउनुपर्ने अवस्था आयो,’ उहाँले लेख्नु भएकाे छ ।

उहाँले धार्मिक आस्था र सम्पदामाथि हस्तक्षेप नगर्न सम्बन्धित निकायलाई सचेत गराउँदै यस्ता गतिविधि निरन्तर रहेमा भविष्यमा ठूला धार्मिक स्थलहरू समेत जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । ‘नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्ला जस्तो देखियो,’ उहाँको भनाइ छ ।

हालै काठमाडौँका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने क्रममा संरचना भत्काउने अभियान सञ्चालन भइरहेको छ । सोही क्रममा विद्यालय तथा धार्मिक संरचनाहरू पनि भत्काइएकाे भन्दै विवाद उत्पन्न भएको छ ।