जनता टाइम्स

१९ बैशाख २०८३, शनिबार १०:४७

प्रधानमन्त्रीसँग शंकर पोखरेलले मागे विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका


काठमाडौं, बैशाख १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह बालेनसँग बिस्थापित सुकुम्वासीका लागि ज्ञ क्रान्तिको खाका माग्नुभएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीसँग खाका माग्नुभएको हो ।

महासचिव पोखरेलले भन्नुभएको छ, ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छरु प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?’

एमाले महासचिव पोखरेलले लेख्नुभएको छ :

विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू
२०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लियो, ११५० भन्दा बढी घाइते भए, झण्डै २५०० घरमा क्षति पुग्यो र हजारौं मानिस घरवारविहीन बने। त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको थियो—यो राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण थियो।
तर आज अवस्था फरक देखिन्छ। सरकारले आफैं सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ। अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पार्छ।
“वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ” भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छरु प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?
मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस्।