जनता टाइम्स

२० बैशाख २०८३, आईतवार ०८:१९

नेपाली पत्रकारलाई राष्ट्रपति रामचन्द्र पौडेलको अपिल : प्रेस स्वतन्त्रताको रक्षा गर्दै सत्य सूचना सम्प्रेषणमा निर्भय बन्नुहोस्


काठमाडौं, वैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगतलाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग गर्दै निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न आह्वान गर्नु भएकाे छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार तथा नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताको भूमिकालाई विशेष रूपमा स्मरण गर्नु भएकाे हाे । ‘स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु आवश्यक छ’   उहाँले भन्नुभएकाे छ ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएकाे छ। साथै, नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयनमा पनि प्रेसको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उल्लेख गर्नु भएकाे छ ।