जनता टाइम्स

२० बैशाख २०८३, आईतवार १९:२४

इन्फेक्सन देखिएपछि केपी ओलीको भेटघाट बन्द, १०-१५ दिन आराम गर्न सुझाव


काठमाडौं, वैशाख २० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट अझै १५ दिन पर धकेलिएको छ ।

हालै पत्थरीको शल्यक्रिया गर्नुभएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको घाउमा इन्फेक्सन देखिएपछि भेटघाटका सवै काममा रोक लगाइएको हो । चिकित्सकहरूको सुझावअनुसार ओली हाल गुण्डुस्थित आफ्नै निवासको माथिल्लो तलामा आराम गरिरहनुभएको छ। शल्यक्रियापछि देखिएको इन्फेक्सनबाट जोगाउन उहाँलाई भेटघाट नगर्न भनिएको छ।

उहाँले अझै १० देखि १५ दिनसम्म पूर्ण आराम गर्नुपर्ने चिकित्सकहरूले सुझाएका छन्। शनिबार परीक्षणका लागि अस्पताल पठाइएको उहाँको रगतको रिपोर्ट आइतबार प्राप्त भएको थियो। उक्त रिपोर्टमा स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको जनाइएको छ।

हाल ओलीले सीमित पार्टी नेताहरूसँग मात्र दूरी कायम गरेर भेटघाट गर्ने गर्नुभएको छ भने अन्य सबै भेटघाट पूर्ण रूपमा रोकिएको छ। अव पार्टी नेतासँगको भेटघाटमा पनि चिकित्सकले रोक लगाएका छन ।