काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका सभापति गगन थापा ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाउनुभएको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकार पक्षबाट राजनीतिक चलखेल भएको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा रास्वपाले पहिले नै निश्चित नाम लिएर भोलिको बैठक राखिएको देखिन्छ, तर्कसहित निर्णय गराउने होइन, आफूले प्रस्ताव गरेको नाम जसरी पनि पारित गराउन जालझेल गरिएको छ।’
प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री सहभागी भएपछि तीन जनाको बहुमतका आधारमा निर्णय पारित गर्ने तयारीका साथ अध्यादेश ल्याइएकाे उहाँले बताउनुभयाे । जुन संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्ने प्रयास भएको उहाँको दाबी छ।
उहाँले विगतका सरकारहरूले पनि यस्ता प्रयास गरे पनि त्यसलाई रोकिएको स्मरण गर्दै अहिले भने स्थिति फरक देखिएको बताउनुभयो। ‘यस पटक हामीले राेक्न सकेनाैँ, किनभने अध्यादेश ल्याइयाे’, उहाँले भन्नुभयाे ।
यसैबीच, उहाँले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति पनि असन्तुष्टि जनाउनुभयो। सुरक्षित आवासको विकल्प नदिई नागरिकलाई जबरजस्ती सडकमा ल्याउने काम भएको उहाँको भनाइ थियो। उहाँले पहिले सुरक्षित आवास सुनिश्चित गरेर मात्र नदी किनारबाट स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
सरकारका राम्रा कामको कांग्रेसले समर्थन गर्ने तर गलत निर्णयको विरोध गर्ने नीति रहेको उहाँले स्पष्ट पार्नुभयो। लिपुलेकसम्बन्धी सरकारको कूटनीतिक नोटलाई कांग्रेसले समर्थन गरेको पनि उहाँले स्मरण गराउनुभयो।













प्रतिक्रिया दिनुहोस्