जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार १३:३५

मन्थलीको चिसापानीमा बन्ने भयो प्याराफिटसहितको भलिबल खेलमैदान 


रामेछाप, वैशाख २४ ।  मन्थली नगरपालिका–८ चिसापानीमा प्याराफिटसहितको व्यवस्थित भलिबल खेलमैदान निर्माण हुने भएको छ। स्थानीय तह र नागरिक साझेदारीमा निर्माण हुन लागेको उक्त खेलमैदानको बिहीबार शिलान्यास गरिएको हो।

वडाध्यक्ष गोपाल श्रेष्ठ ले खेलमैदान निर्माण कार्यको शिलान्यास गर्दै खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार करिब १७ लाख रुपैयाँको लागतमा निर्माण हुने खेलमैदानका लागि वडा कार्यालयले झण्डै ८ लाख रुपैयाँ खर्च गर्नेछ भने बाँकी रकम नागरिकस्तरको सहयोग र जनश्रमदानमार्फत जुटाइनेछ।

वडाध्यक्ष श्रेष्ठले जिल्लामै व्यवस्थित भलिबल खेलमैदानको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै चिसापानीमा आधुनिक स्वरूपको खेल मैदान निर्माण गर्न लागिएको बताउनुभयो। उहाँले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने तथा स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्न सहज बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो।

चिसापानीको ठूलो चौरमा निर्माण हुन लागेको उक्त खेलमैदानमा प्याराफिटसहित आवश्यक संरचना निर्माण गरिने जनाइएको छ। खेलाडी र दर्शक दुवैलाई सहज हुने गरी मैदानको डिजाइन तयार गरिएको वडा कार्यालयले जनाएको छ।

निर्माण कार्य तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। ‘सकेसम्म यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो।

 

उहाँका अनुसार खेलमैदान निर्माणका लागि स्थानीयवासी, युवाहरू तथा विभिन्न संघसंस्थाबाट समेत सहयोग जुटाउने काम सुरु भइसकेको छ। केही व्यक्तिहरूले आर्थिक सहयोगको प्रतिबद्धता जनाइसकेको र जनश्रमदान पनि परिचालन गरिने उहाँले बताउनुभयो।

स्थानीय युवाहरूले खेलमैदान निर्माणको पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले व्यवस्थित खेल मैदान निर्माण भएपछि गाउँस्तरदेखि जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न सहज हुने अपेक्षा गरेका छन्।

रामेछाप जिल्लामा खेलकुद पूर्वाधारको अभाव भइरहेका बेला स्थानीय तह र नागरिक साझेदारीमा निर्माण हुन लागेको यो खेलमैदानलाई ग्रामीण खेलकुद विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।