जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार २०:११

कान्छाराम निलम्बनमा परेपछि रामेछाप कांग्रेसको कार्यबाहक सभापतिकाे जिम्मेवारी नवराज थोकरलाई


काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति नवराज थोकर (तामाङ) लाई दिइएको छ । जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ केन्द्रीय अनुशासन समितिबाट निलम्बनमा परेपछि थोकरलाई उक्त जिम्मेवारी तोकिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग ‘३ अर्बभन्दा बढी रुपैयाँ रहेको’ भन्ने अभिव्यक्ति दिएपछि कान्छारामलाई स्पष्टिकरण सोधिएको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको निष्कर्षसहित केन्द्रीय अनुशासन समितिले कान्छारामलाई निलम्बन गरेको जनाइएको छ ।

सभापति थापाले बिहीबारदेखि लागू हुने गरी थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हाे । उहाँलाई पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाभित्रका सांगठनिक गतिविधि सञ्चालन, पार्टी संरचनालाई परिचालन तथा दैनिक कामकाज नियमित गर्न निर्देशन दिइएको छ ।

थोकरलाई पठाइएको पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र नियमावली, २०७६ बमोजिम पार्टीको हितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख १६ गतेको निर्णयानुसार निलम्बनमा रहनु भएको कारण सभापति पद रिक्त रहेको र पार्टीका सांगठनिक गतिविधि नियमित तथा प्रभावकारी बनाउन आवश्यक देखिएकाले कार्यवाहक सभापतिको हैसियतले दैनिक कामकाज गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।’