रामेछाप, वैशाख २६ । बिरामी पर्दा गाउँमै सहज उपचार पाइयोस्, सामान्य रोगकै लागि घण्टौँ यात्रा गर्न नपरोस् भन्ने खाँडादेवीका नागरिकको सपना अझै अधुरै छ । पाँच वर्षअघि ठूलो आशाका साथ सुरु गरिएको खाँडादेवी गाउँपालिकाको अस्पताल भवन आज पनि अधुरो अवस्थामा उभिएको छ ।
खाँडादेवी गाउँपालिका–५ गोगनपानीमा निर्माण थालिएको ५ शय्याको पालिकास्तरीय अस्पताल चार वर्षअघि नै सञ्चालनमा आउनुपर्ने थियो । तर निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्ती सराेकारवालाकाे असंवेदनशीलताकाे कारण भवन अझै अलपत्र अवस्थामा छ ।
स्थानीयले अस्पताल बनेपछि गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवा पाइने आशा गरेका थिए । बिरामी बोकेर मन्थली, काठमाडौं वा अन्य ठाउँ धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा थियो । तर अहिले पनि त्यो सपना कागजमै सीमित बनेको छ ।
भवनको सबै काम सम्पन्न गरेर १५ शय्यासम्म विस्तार गर्ने योजना बनाइएको थियो । तर निर्माण कार्य पहिलो तल्लामै रोकिएको छ । पाँच वर्ष बितिसक्दा समेत पहिलो तल्लाको फिनिसिङको काम पूरा हुन सकेको छैन । अधुरो भवन, खिया लाग्न थालेका संरचना र सुनसान निर्माण स्थलले स्थानीयको पीडा झन् बढाइदिएको छ ।
गाउँपालिकाले पटक–पटक बजेट विनियोजन गरे पनि निर्माणले गति लिन सकेको छैन । अस्पताल सञ्चालनमा आउला भनेर वर्षौँदेखि प्रतीक्षा गरिरहेका स्थानीय अहिले निराश बन्न थालेका छन् ।
अस्पताल भवन तयार नभएकै कारण अहिले अस्पतालबाट प्रवाह हुने सेवा पकरबास स्वास्थ्य चौकीबाट सञ्चालन हुँदै आएको छ । सीमित संरचना र स्रोतसाधनबीच साे स्वास्थ्य चाैकीले अस्पतालले दिन सेवा दिन सकेकाे छैन ।
खाँडादेवी गाउँपालिकाभित्र रहेका १३ वटा स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएका छन् । तर पालिकास्तरीय सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउन नसक्दा जटिल बिरामीले अझै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् ।
विशेषगरी वृद्धवृद्धा, सुत्केरी महिला र आकस्मिक बिरामीलाई समयमै उपचारका लागि अन्यत्र लैजानुपर्दा धेरै परिवार आर्थिक र मानसिक रूपमा पीडित हुने गरेका छन् । वर्षायाममा सडक अवरुद्ध हुँदा समस्या झन् भयावह बन्ने गरेको स्थानीयको गुनासो छ ।
‘अस्पताल बन्छ भनेर हामी धेरै खुसी भएका थियौँ, अहिले त भवन हेर्दा मन नै दुख्छ,’ एक स्थानीयले भने, ‘बिरामी पर्दा अझै पनि गाउँ बाहिर धाउनुपर्ने अवस्था उस्तै छ ।’
गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सुविधा सम्पन्न अस्पताल निर्माण थाले पनि त्यो योजना कहिले पूरा हुन्छ भन्ने अन्योल बढ्दै गएको छ । अधुरो भवनले अहिले विकासको सपना मात्रै होइन, उपचारको आशामा बसेका नागरिकको पीडा पनि बोकेको छ ।













प्रतिक्रिया दिनुहोस्