काठमाडौं, वैशाख २६। इन्टरनेसनल फेडरेसन अफ जर्नालिष्ट (आईएफजे) को विश्व सम्मेलनले नेपाल पत्रकार महासंघले पेश गरेको विशेष प्रस्ताव पारित गरेको छ ।
मे ४ देखि ७ तारिखसम्म आयोजित आईएफजे विश्व सम्मेलनमा संसारभरका ३०० भन्दा बढी पत्रकार सहभागी रहेका थिए । सम्मेलनले नेपाल पत्रकार महासंघको तर्फबाट पेश गरिएको ‘अर्जेन्ट मोसन’ लाई पारित गरेको नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उक्त प्रस्तावमा पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । विशेष गरी सरकारले गएको महिना जारी गरेको विज्ञापनसम्बन्धी सरकारी एकाधिकारको नीतिको विरोध गर्दै त्यसले स्वतन्त्र अभिव्यक्तिमाथि अङ्कुश लगाएको ठहर गरिएको छ ।
सम्मेलनले उक्त व्यवस्था फिर्ता लिन र स्वतन्त्र प्रेसको सम्मान गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । प्रस्तावमा सञ्चार क्षेत्रमा आर्थिक सङ्कट गहिरिँदै गएको, पत्रकारको रोजीरोटी खोसिएको, सूचनाको हक कुण्ठित भएको तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाइएको उल्लेख गरिएको छ ।

त्यस्तै, सम्मेलनले उक्त कदम नेपालको संविधान र विद्यमान कानुनको भावना विपरीत रहेको निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको सम्मान गर्न पनि आग्रह गरेको छ ।
अध्यक्ष शर्माका अनुसार नेपालमा संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कटौती गर्ने प्रयास नगर्न सम्मेलनले खबरदारीसमेत गरेको छ ।
आईएफजे विश्व सम्मेलनले नेपालसहित विभिन्न देशसँग सम्बन्धित सात वटा जरुरी महत्वका प्रस्ताव पारित गरेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्