जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार ०९:०८

गाउँको दुःखसँग जोडियो आयुर्वेदको स्पर्श : धोबीमा पुगेको स्वास्थ्य शिविरले बाँड्यो आशा र आत्मीयता


रामेछाप, वैशाख २७ । पहाडको विकट बस्तीमा बस्ने धेरै नागरिकका लागि अहिले पनि स्वास्थ्य सेवा सहज पहुँचको विषय बनेको छैन ।

सामान्य रोगले सताउँदा पनि रोग दबाएरै बस्नु पर्ने वा  घण्टौँ पैदल हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता धेरै गाउँलेको नियति बनेको छ । यस्तै कठिनाइका बिच आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँमै पुगेर सञ्चालन गरेको आयुर्वेदिक स्वास्थ्य शिविरले लिखु तामाकोशी गाउँपालिकाको धोबीमा स्थानीयवासीलाई राहत मात्रै दिएन, आत्मीयताको अनुभूति पनि गराएको छ ।

चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र धोबी स्वास्थ्य चौकीको सहकार्यमा सम्पन्न एक दिने शिविरमा विभिन्न वडाबाट आएका सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँमै विशेषज्ञ चिकित्सक पुगेपछि स्थानीयहरू बिहानैदेखि स्वास्थ्य चौकीमा भेला भएका थिए । कतिपय वृद्धवृद्धा लठ्ठी टेकेर आएका थिए भने केही महिलाहरू आफ्ना दीर्घरोगको पीडा बोकेर उपचारको आशामा शिविरसम्म पुगेका थिए ।

शिविरमा डा. सविता भण्डारीको नेतृत्वमा गएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी परामर्श दिएको थियो । टोलीमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्याे । स्थानीय स्वास्थ्यकर्मीले समेत उपचार व्यवस्थापनमा सक्रिय सहयोग गर्नु भएकाे थियाे ।

चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोका अनुसार लिखु तामाकोशी गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ बाट बिरामीहरू उपचारका लागि शिविरमा पुगेका थिए । धेरैजसो बिरामी पेट, ग्याष्ट्रिक, जोर्नी दुखाइ, श्वासप्रश्वास र दीर्घरोगबाट पीडित रहेको बताइएको छ ।

शिविरमा स्वास्थ्य परीक्षणसँगै निःशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको थियो । चिकित्सालयका फार्मेसी सहायक प्रमोद पोखरेलका अनुसार गाउँमै औषधि पाएपछि धेरै स्थानीयले राहत महसुस गरेका थिए ।

चिकित्सक डा. उत्तम गैरेका अनुसार शिविरमा अम्लपित्त, ग्याष्ट्रिक, पेट सम्बन्धी रोग, श्वास–कास, पिनास, छाती सम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, पाइल्स, फिसर, फिस्टुला, उच्च रक्तचाप, मधुमेह, बाथ तथा पाठेघर सम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो । उहाँहरुलाई आवश्यक परामर्शसँगै आयुर्वेदिक औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँमै चिकित्सक पुगेपछि स्थानीयवासीमा खुसी छाएको थियो । उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता केही समयका लागि भए पनि कम भएको भन्दै स्थानीयहरूले यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका छन् । शिविरमा २ सय जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवा केवल उपचार मात्र होइन, नागरिकको पीडामा राज्यको उपस्थिति पनि हो । धोबीमा पुगेको यो आयुर्वेदिक शिविरले गाउँका नागरिकलाई औषधि मात्रै बाँडेन, उनीहरूको दुःख र पीडासँग राज्य अझै जोडिएको छ भन्ने भरोसा पनि दिलाएको छ ।