काठमाडौं, वैशाख २९ । प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी लाई वैज्ञानिक वैचारिक आधारमा संगठित राजनीतिक दल नभई ‘अत्यधिक महत्त्वाकाङ्क्षी र अराजक समूहहरूको अस्थायी गठबन्धन’ भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले रास्वपाको राजनीति लोकप्रियतावादमा आधारित रहेको आरोप लगाउनुभयो । ‘रास्वपा राजनीतिक नेतृत्वको दृष्टिले सुसङ्गत र वैज्ञानिक सैद्धान्तिक रूपमा संगठित दल होइन,’ उहाँले भन्नुभयो, ‘यो अति महत्त्वाकाङ्क्षी अराजक समूहको अस्थायी गठबन्धन हो, यो लोकप्रियतावादको दलदलमा अडिएको छ, रूपले राम्रो देखिए पनि सारमा घातक छ ।’
उहाँले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रियता, लोकतन्त्र र नागरिक स्वतन्त्रतासँग सम्बन्धित विषयमा मौन देखिएको बताउनुभयो । ‘राष्ट्रिय झण्डा ओढेर देश जलाउने प्रवृत्तिप्रति सरकारको नीति तथा कार्यक्रम किन मौन छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘लिपुलेकमा बाटो खुल्दा मौन रहने सेना किन सुकुम्वासी बस्तीमा परेड खेल्दै छ ? विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउँदा किन घण्टी बज्दैन ?’
प्रधानमन्त्रीको व्यवहारप्रति पनि उहाँले असन्तुष्टि जनाउँदै संसद्को गरिमामाथि प्रहार भएको टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीले संसद्को अपमान गर्दा सदन र सभामुख किन लाचार र मौन छन् ?’ उहाँले प्रश्न गर्नुभयो ।
थापाले रास्वपा नेतृत्वको सरकारले निर्धारित संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन चलाएको बताउनुभयो । ‘प्रतिनिधिसभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी आठ वटा अध्यादेश जारी गर्यो,’ उहाँले भन्नुभयो, ‘यसको राजनीतिक लक्ष्य राज्यको प्रशासनतन्त्र र न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो ।’
उहाँले रास्वपाको राजनीतिक सफलता कुनै दीर्घकालीन संघर्ष, बलिदान वा वैचारिक योगदानबाट प्राप्त नभएको दाबी गर्नुभयो । ‘यो सफलता देश र जनताका लागि दशकौँदेखि गरिएको अतुलनीय योगदान, बलिदान वा विलक्षण क्षमताबाट आएको होइन,’ उहाँले भन्नुभयो, ‘यो त विगतका सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु तथा विश्व भू–राजनीतिक प्रभावहरूको परिणाम हो ।’
रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्य स्थानीय तहदेखि संघीय सरकारसम्म एकल नेतृत्व कायम गर्ने रहेको उहाँको दाबी थियो । ‘रास्वपाको लक्ष्य आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभामा आफ्नो एकल नेतृत्व स्थापित गर्नु हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि मात्र उनीहरूले भनेजस्तो कथित निलो क्रान्तिले पूर्णता पाउनेछ ।’













प्रतिक्रिया दिनुहोस्