जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार ०९:२१

एमाले नेता गोकुल बाँस्कोटाकाे जिज्ञासा : आफैँ उपेक्षित संसद्ले के उत्तर देला ?


काठमाडौं, वैशाख ३१। नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले लोकतन्त्रको नाममा विरोधी र आलोचकलाई अपमानित गर्ने राजनीतिक संस्कारकै परिणाम अहिले संसदमा देखिएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले विपक्षी वा आलोचकको ‘छाला काढेर नुनचुक छर्कँदा’ खुसी हुने चेतलाई लोकतान्त्रिक अभ्यास ठानिएको विगतका केही गलत अभ्यास अहिले संसदमा ‘खील बनेर पल्टिएको’ उल्लेख गर्नुभएको हो ।

उहाँले लोकतन्त्रलाई परिष्कृत बनाउने नाममा अर्कालाई निरन्तर होच्याउने र आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको सङ्केत गर्दै कटाक्ष गर्नुभएको छ । ‘अब त लोकतन्त्र यति परिष्कृत भएछ कि ढुङ्गाको छाला काढ्ने सीप भएकाहरू लोकतन्त्रका नयाँ मसिहा बनेर पढाउँदै छन्,’ उहाँले लेख्नुभएको छ ।

नेता बाँस्कोटाले संसद्को भूमिका माथिसमेत प्रश्न उठाउँदै आफू उपेक्षित बनेको संसद्ले अहिलेको परिस्थितिमा के उत्तर दिने भन्ने प्रश्न गर्नुभएको छ ।  ‘आफैँ उपेक्षित संसद्ले के उत्तर देला ?’, उहाँको प्रश्न छ ।