जनता टाइम्स

१ जेष्ठ २०८३, शुक्रबार ०८:३९

संसदलाई अपमान गर्ने प्रधानमन्त्री नैतिक रूपमा पदमा बस्न मिल्दैन भन्दै श्रम संस्कृति पार्टीले माग्यो राजीनामा 


काठमाडौं, जेठ १ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ले संसदलाई अपमान गरेको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिन माग गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको, संसदीय अभ्यासको मर्यादा तोडेको र जनताप्रतिको उत्तरदायित्वबाट भागेको आरोप लगाउनुभएको हो ।

विज्ञप्तिमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिरहेकै बेला संसदबाट बाहिरिएको, त्यसपछि सभामा नफर्किएको तथा नीति तथा कार्यक्रममाथिको छलफलमा समेत अनुपस्थित रहेको विषयलाई गम्भीर रूपमा उठाइएको छ ।

साम्पाङले प्रधानमन्त्री संसद नआएर नजिकै रहेको आफ्नै कार्यालयबाट संसदका गतिविधि ‘लाइभ’ हेरेर बसेको दाबी गर्दै त्यसलाई संसद र लोकतन्त्रमाथिको अपमानको रूपमा चित्रण गर्नुभएको छ ।

उहाँले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्पराको समेत बेवास्ता गरिएको उल्लेख गर्नुभएको छ । ‘संसदमा मर्यादा र थिति बसाल्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको व्यवहारले संसदीय अभ्यासको इतिहासमै ‘कालो धब्बा’ लागेको टिप्पणी गरेको छ । जनताको सार्वभौम संस्थाको रूपमा रहेको संसदलाई अपमान गरेर त्यही संसदबाट निर्वाचित प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा पदमा बसिरहेको हो भन्दै पार्टीले प्रश्न उठाएको छ ।

साम्पाङले जनताका प्रश्नको सामना गर्न नसक्ने र संसदबाट टाढा बस्ने प्रवृत्तिले गलत नजिर बस्ने चेतावनी समेत दिनुभएको छ । ‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त हुँदैन,’ भन्दै उहाँले न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसकेको आधारमा प्रधानमन्त्रीले राजीनामा दिए लोकतन्त्र र जनता दुवै सम्मानित हुने दाबी गर्नुभएको छ ।

विज्ञप्तिमा सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ । संसदको औचित्य र शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै श्रम संस्कृति पार्टीले सरकार अभिभावकीय भूमिकामा असफल भएको टिप्पणी गरेको छ ।

सीमा सुरक्षादेखि जनजीविकासम्मका विषयमा सरकार असफल भएको आरोप लगाउँदै साम्पाङले गरीब तथा सुकुम्बासी जनतालाई विस्थापित र आतंकित बनाउने बाहेक सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप समेत लगाउनुभएको छ ।