जुम्ला, मंसिर २९
जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।
बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए । जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार वेपत्ता हुनेमा तिला ९ ढिपु गाउँका धनबहादुर बोहोरा,छविराज बोहोरा,जंग रावत, सुमबहादुर बोहोरा, नरबीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सुर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन् ।
यो संगै पाटनदेखि सेतक चिनी ल्याएर आएका एक खच्चर गुवालाको मृत्यु भएको छ । तिला गाउँपालिका ६ नेटा भन्ने ठाउँमा चिसोले कठयाँग्रिएर तिला गाउँपालिका ९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए । उनका अनुसार मृतक बोहोरा संगैका चार जना खच्चर गुवाला सकुशल फर्केका छन् । मृतकको शव लिन स्थानीय त्यस तर्फ गइसकेका छन् । तर भारी हिमपातका कारण शव खोज्न कठिन हुने स्थानीय बताउँछन् ।
जडिबुटी खोज्न गएका स्थानीय हिउँमा परेको भन्दै तत्काल उद्धार गर्न स्थानीयले माग गरेका छन् । वडाध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ बेपत्ता भएकाहरुको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाउन थालेको जानकारी दिए । उनले भने,‘यो निकै दुखद पक्ष हो । उद्धारका लागि सम्बन्धित निकायालाई पत्र पठाउँदैछौँ ।’
फुलवारी पाटनमा हिडेर जान सकिने अवस्था छैन् । हेलिकप्टर बाहेकको विकल्प नरहेको स्थानीय बताउँछन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले स्थानीय प्रशासन संग समन्वय गर्न आग्रह गर्दै आफु पनि उद्धारको लागि गृहमन्त्रालयसंग आग्रह गर्ने जानकारी दिए । गाउँमै झण्डै दुइ फिटसम्म हिउँ परेको छ । पाटनमा हिउँ धेरै परेको हुन सक्ने भन्दै तत्काल उद्धार गरिदिन सरकार समक्ष माग गरिएको छ ।
एउटै गाउँका १२ जना वेपत्ता भएपछि गाउँ नै दुस्खी बनेको छ । वडाध्यक्ष बोहोराले भन्ने,‘जडिबुटी संकलन गर्न जानेहरु बस्ने ओढार मलाइ थाहा छन् । उनीहरु त्यतै बसेका छन् । तर कुनै सम्पर्क हुन सकेको छैन । हिउँ परेकोले उनीहरु चिसोले कठ्याग्रिने सम्भावना बढेकोले समस्या छ । ’जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि आफ्नो माध्यम मार्फत गृहमन्त्रालयमा जानकारी गराईसकेको बताएका छन् । फुलवारी पाटनमा पुग्न गाँउदेखि झण्डै दुई दिन लाग्ने गरेको स्थानीय बताउँछन् । (नागरिक)













प्रतिक्रिया दिनुहोस्