जनता टाइम्स

३ जेष्ठ २०८३, आईतवार ०७:१६

मदन–आश्रितको ३३औँ स्मृति दिवस आज : एमालेद्वारा देशभर विविध कार्यक्रम


काठमाडौ, जेठ ३। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा आज देशका विभिन्न भागमा स्मृति सभासहित विविध कार्यक्रम आयोजना गर्दै छ ।

स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा विशेष स्मृति कार्यक्रम तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान मा विचारगोष्ठी आयोजना गरिने भएको छ । यस्तै, देशका विभिन्न स्थानमा मदन–आश्रितको राजनीतिक योगदानमाथि चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा मा भएको सवारी दुर्घटनामा निधन भएको थियो । उक्त घटनालाई नेपाली कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण तथा रहस्यमय घटनाका रूपमा पनि चर्चा गरिँदै आएको छ ।

एमालेले भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रणेताका रूपमा सम्मान गर्दै आएको छ । उहाँले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्दै आएको छ ।