जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार ०७:१७

एमाले सचिवालय बैठक आज, कार्यविभाजन र स्थानीय तह निर्वाचन तयारी मुख्य एजेण्डा


काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बैठक बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै स्थगित गरी आजका लागि सारिएको हो।

११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरूको कार्यविभाजन टुङ्गो नलागेकाले आजको बैठक मुख्यतः सोही विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् । पार्टीले केन्द्रीय सदस्यहरूलाई पालिका तहसम्म जिम्मेवारी दिएर पठाउने तयारी गरेको छ ।

पार्टी संगठनलाई आगामी स्थानीय तह निर्वाचन लक्षित गरी सक्रिय बनाउने उद्देश्यसहित प्रत्येक केन्द्रीय सदस्यलाई पालिकास्तरको इन्चार्ज तोक्ने तयारी गरिएको जनाइएको छ । त्यसमार्फत स्थानीय तहमा पार्टीको संगठन सुदृढ बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने रणनीति एमालेले अघि बढाएको बुझिएको छ ।

यसैगरी, केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । लामो समयदेखि रिक्त तथा व्यवस्थापन हुन बाँकी रहेका विभागहरूको नेतृत्व र सदस्यहरूको जिम्मेवारीसमेत आजको बैठकबाट टुङ्गो लगाउने सम्भावना रहेको छ । बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मितिसमेत तय गर्ने  बुझिएकाे छ ।

त्यस्तै, सरकारले हालै विभिन्न स्थानबाट हटाएका सुकुम्बासी बस्ती, उनीहरूको व्यवस्थापन तथा सरकारका पछिल्ला कामकारबाहीका कारण जनतामा परेको प्रभावबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । एमालेले सरकारका गतिविधिबारे पार्टीको धारणा स्पष्ट पार्ने तयारीसमेत गरेको जनाइएको छ ।