जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार ११:१६

दुर्गम गाउँमा जब डाक्टर लिएर स्वास्थ्य मन्त्री पुगे : उमाकुण्डबासीमा देखियाे आशा, राहत र खुसी


नवराज पथिक

रामेछाप, जेठ ४ । बिहानको चिसो हावा चलिरहेको थियो । पहाडका उकालो बाटाहरू हुँदै वृद्धवृद्धा, महिलाहरू, बालबालिका र युवाहरू अस्पताल र स्वास्थ्य चौकीमा भेला हुँदै थिए ।  कसैले लाठी टेकेका थिए, कसैले काखमा बच्चा बोकेका । धेरैका अनुहारमा उत्सुकता थियो-‘आज साँच्चै गाउँमै डाक्टर आएका हुन् त ?’

जिल्लाकै दुर्गम मानिने उमाकुण्ड गाउँपालिकाका स्थानीयका लागि यस्तो दिन विरलै आउँछ । सामान्यदेखि जटिल रोगसम्मको उपचारका लागि राजधानीसम्म पुग्नुपर्ने बाध्यता यहाँका नागरिकको वर्षौँदेखिको पीडा हो ।

तर शनिबार र आइतबार गाउँको दृश्य फरक थियो । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर आफैँ विशेषज्ञ डाक्टरको टोली लिएर गाउँ पुगेपछि उमाकुण्डका बस्तीहरूमा आशा, राहत र खुसी फैलिएको थियो ।

वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियान अन्तर्गत उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ८ सय ५० जना भन्दा बढीले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले बताउनुभयाे।

गाउँमै विशेषज्ञ सेवा पुगेपछि स्थानीय बिहानैदेखि लामबद्ध भएर स्वास्थ्य परीक्षण गराइरहेका थिए । कतिपयले जीवनमै पहिलो पटक भिडियो एक्स–रे र अल्ट्रासाउण्ड देखेका थिए । उनीहरुले ती मेसिन हेरेनन् मात्र तिनै मेशिनबाट आफ्नाे स्वास्थ्य परीक्षण गराए ।

शिविरमा स्त्री तथा प्रसूति रोग, आँखा, पेट, छाला, हाडजोर्नी, बालरोग, दन्त तथा मुख स्वास्थ्य, आयुर्वेद सेवा लगायतका उपचार प्रदान गरिएको थियो । अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, ल्याब परीक्षणदेखि नसर्ने रोगको परीक्षणसम्मका सेवा गाउँमै उपलब्ध गराइएको थियो ।

विशेषगरी महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रमले धेरै महिलालाई राहत दिएको थियो । वर्षौँदेखि समस्या लुकाएर बसिरहेका महिलाहरूले पहिलो पटक खुलेर स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधि वितरण गरिएको थियो । औषधिको पोका बोकेर फर्किरहेका स्थानीयका अनुहारमा सन्तोष स्पष्ट देखिन्थ्यो ।

कार्यक्रममा बोल्दै मन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा शहरमा मात्र सीमित हुन नहुने बताउनुभयो । ‘सबै नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ भन्ने उद्देश्यले अस्पतालकै विशेषज्ञ टोली गाउँमा ल्याएका हौँ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले ग्रामीण क्षेत्रमा डाक्टर टिकाउन कठिन रहेको उल्लेख गर्दै गाउँमै सेवा विस्तारका लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो ।

शिविरमा बिहान सबेरैदेखि साँझसम्म स्वास्थ्य परीक्षण गराउन स्थानीय जम्मा भएका थिए । गाउँमा नै विशेषज्ञ सेवा पुग्दा स्थानीयहरू निक्कै खुसी देखिन्थे । उनीहरू आफ्नो स्वास्थ्य परीक्षण गराउन निक्कै आतुर देखिन्थे ।

यो शिविर केवल उपचार कार्यक्रम मात्र थिएन, राज्यले दुर्गम गाउँका नागरिकलाई बिर्सिएको छैन भन्ने भरोसा दिलाउने क्षण पनि थियो । उमाकुण्डका पहाडी बस्तीहरूमा शनिबार र आइतबार स्वास्थ्य सेवा मात्र पुगेन, धेरैका मनमा नयाँ भरोसा, आत्मविश्वास र बाँच्ने आशा पनि पुगेको थियो ।