जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार ११:३६

संसदमा प्रधानमन्त्रीको खोजी गर्दै श्रम संस्कृति पार्टीले गर्याे पर्चा प्रदर्शन, सभामुखको आपत्ति


काठमाडौं, जेठ ४ । श्रम संस्कृति पार्टी का सांसदहरूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै पर्चा प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखतर्फ प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा देखाएका थिए । प्रदर्शनमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसद सहभागी थिए ।

केहीबेर पर्चा प्रदर्शन गरेपछि सांसदहरू आफ्ना आसनमा फर्किएका थिए । तर, उनीहरूले पर्चा भने छातीमा टाँसेर बैठकमा सहभागिता जनाइरहेका छन् ।

सांसदहरूको उक्त गतिविधिप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनुभएको छ । उहाँले संसदमा यस प्रकारको पर्चा प्रदर्शन गर्ने अभ्यास नरहेको उल्लेख गर्दै यसलाई अमर्यादित गतिविधिका रूपमा टिप्पणी गर्नुभयो ।

सभामुख अर्यालले संसदको गरिमा र मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन निर्देशन दिनुभयो ।